काठमाडौं । हिजो मात्रै चितवन जिल्ला अदालतमा पुगेर आफ्ना श्रीमान रवि लामिछानेलाई भेटेर आएकी निकिता पौडेलले नयाँ कदम उठाएकी छिन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेकी पत्नी पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिएकी हुन् ।

निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उजुरी दिएकी छिन् । पछिल्लो पटक रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई ५ दिन हिरासतमा राख्नु भन्ने जिल्ला अदालत चितवनको आदेशपछि उनले यस्तो कदम उठाएकी हुन् ।

उनले हिजो रविलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी थिइन् । उनले रविले आफुसँग भनेको भन्दै, ‘न्यायको अपेक्षा अझै मरेको छैन । तर न्यायमा बाधा पुर्याउने केही तत्वहरु सक्रिय भएको महसुश भएको छ ।’ लेखेकी थिइन् ।

आज निकिताले दर्ता गरेको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआज डट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरेका छन् ।

सम्बन्धित खबरहरु