काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा पत्रकारहरु पक्राउ पर्ने क्रम बढ्न थालेको छ । एक जना पत्रकार शालिकराम पुडासैनीको जीवनत्याग गरेको घटनामा संलग्न भएको भन्दै अहिले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल हिरासतमा छन् । यस घटनामा एक जना अस्मिता कार्की पनि पक्राउ परेकी छिन् जो एक नर्स हुन् ।

अहिले अर्का पत्रकार फेरि पक्राउ परेका छन् । कास्की प्रहरीले जनसंचार डटकमका सम्पादक ओम हमाललाई गिरफ्तार गरेको छ । हमाललाई आज बिहान पोखराको शिशुवा बजारबाट गिरफ्तार गरेको परिवार स्रोतले जानकारी दिएको छ । आस्थाका आधारमा विप्लव नेतृत्वको नेकपामा भएका हमाल निरन्तर रुपमा भ्रष्टाचार, दलाली र असामाजिक गतिविधिविरुद्ध कलम चलाउँदै आइरहेका छन् ।

समाचारकै विषय लिएर गिरफ्तार गरिएको अनुमान गरिएको छ । सम्पादक हमाल जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबं गण्डकी धौलागिरीका संयोजक हुन् । उनको तत्काल निसर्त रिहा गर्न संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे र हिम विष्टले फेसबुक पेजमा स्टाटस राख्दै सरकारसाग अपिल गरेका छन् ।

आजै नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार हमाललाई तत्काल निसर्त स–सम्मान रिहा गर्न माग गरेका छन् ।

सम्बन्धित खबरहरु