काठमाडौ । पत्रकार शालिकराम पुडासैनी आत्मह'त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कडेँल र नर्स अस्मिता कार्कीलाई अदालतले रिहा गरेको छ । लामिछानेलाई ५ लाख रुपैयाँ, कडेँललाई ३ लाख रुपैयाँ धरौटी रकममा तथा कार्कीलाई साधारण तारेखमा जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्मह'त्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दियो । जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए । उनका अनुसार ‘अब उनीहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’

अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले अब हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ । यो अहिले नै अन्तिम फैसला भने हैन । उनीहरुलाई अदालतले दोषी वा निर्दोषी के हो भन्ने एकिन गर्न बाँकी नै छ । दोषी वा निर्दोषी बन्ने सम्भावना बारबार छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्मह'त्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो । तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो ।

लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो । पत्रकार शालिकराम पुडासैनी रवि लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्मह'त्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्मह'त्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ । यो प्रावधान क्रमिक रुपमा अघि बढिरहनेछ ।

के–के भेटियो अनुसन्धानमा ?
प्रहरीले लामिछानेसहित तीनजनालाई ५–५ दिन गरेर दुई पटकमा १० दिनको म्यान थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।

पोष्टमार्टम रिपोर्टमापनि उनको आत्माह’त्या नै भन्ने रिपोर्ट आएको छ । अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छरछैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।’

रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्मह’त्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन लगायतका विषय केलाएको थियो । तीनजनाको वयान पनि लिएको छ ।

त्यसक्रममा लामिछाने र कार्कीको वयान बाझिएको अनुसन्धान अधिकृत बताउँछन् । रविले यसअघि आफूले अस्मितालाई नचिनेको दाबी गरेका छन् भने अस्मिताले भने पुरानो चिनजान भएको बताएकी छन् । त्यसैगरी पुडासैनीको आत्मह’त्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक–पटक सम्पर्क गरेको पनि देखिएको छ ।

सम्बन्धित खबरहरु