धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भएपनि भीम रावल बेला–बेला विपक्षी जस्तै बनेका हुन्छन् । उनले फेरी आज विपक्षीलाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको दावी गरिरहेका बेला रावललेपनि त्यही अभिव्यक्ति दिएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको उनको भनाई थियो । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि उनको दावी छ ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् । उनले सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरेका थिए ।

सम्बन्धित खबरहरु