काठमाडौ । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भई ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत हुनुभएको छ ।

उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल हुनुभएको छ । साथै प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमीङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि।टी।’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल हुनुभएको छ ।

भारतका संघीय गृहमन्त्री अमित साह प्रमुख अतिथि रहनुभएको २४ अगष्ट, २०१९ मा आयोजित दिक्षान्त समारोहमा उक्त तालिमका विभिन्न विधाहरुमा पुरस्कार वितरण गरिएको थियो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको हो । करिब २ वर्ष लामो अवधि रहेको उक्त तालिम ६ महिनाको फिल्ड अट्याचमेन्ट सहित २ चरणमा संचालन हुने गर्दछ ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको उक्त तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन् ।

सम्बन्धित खबरहरु