बलेवा । बागलुङ नगरपालिका–१० भकुण्डेका एक युवाको दुवै मिर्गौला काम नलाग्ने भएको छ । वडाध्यक्ष प्रेमबहादुर थापाका छोरा २८ वर्षीय रबिन थापा बिरामी परेपछि जचाउन पुग्दा सो समस्या भेटिएको हो । रबिनको मिर्गौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । अङ्ग प्रत्यारोपणका लागि लाखौँ खर्च हुने भएकाले परिवारका सदस्यले सहयोगको याचना गरेका छन् ।

घरको आर्थिक अवस्थाले उपचार गर्ने सम्भव नभएपछि रबिन थापा उपचार सहयोग समिति गठन गरेर आर्थिक सङ्कलन अभियान थालिएको संयोजक उमेश सर्बुजाले बताउनुभयो । थापा बिगत दुई महीनादेखि काठमाडौँस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा उपचार गराइरहनुभएको छ ।

उहाँको उपचारका लागि हालसम्म रु सात लाख खर्च भएको र कम्तीमा ३० लाख खर्च लाग्ने भएपछि समितिले सहयोगको अभियान थाल्न बाध्य भएको हो । थापाकै श्रीमतीको मिर्गौला प्रत्यारोपण गरेर बचाउन सकिने भएपछि उपचार र प्रत्यारोपण खर्चको खोजीमा लागिएको समितिका सचिव श्याम थापाले बताउनुभयो । रासस

सम्बन्धित खबरहरु