काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ ‘संस्कार’को सुरुवात गरेका छन् । मन्त्री भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् ।

शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठ स्थित निवाश पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराएका थिए ।

आफ्नो मन्त्रालयले केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको भट्टराईले जानकारी दिए । उनले भने, ‘मन्त्रालयका काम र भ्रमण वर्ष–२०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ ।’

यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ । यो पहिलो र नयाँ राजनीतिक संस्कारको सुरुवात भएको धेरैले उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु