काठमाडौ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मा'रेर पाखण्ड देखाएको टिप्पणी गरेका छन् । समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड ।’


पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको उनले बताए । ‘सत्तरी वर्षभन्दा पुरानो कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ’ उनले भने, ‘त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’

‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’ उनले २१औं शताब्दीको विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पाटी विकल्पका रुपमा आएको दाबी गरे ।

समाजवादी पार्टीको प्रदेश ३ नेतृत्वमा सोनामसिं स्याङ्तान छानिएका छन् भने मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् । यसैगरी नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्य, ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङ चयन भएका छन् ।

त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पा चयन भएका छन् । शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव चयन भएका छन् भने समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।

सम्बन्धित खबरहरु