काठमाडौं । आफ्ना ६ जना नागरिक पक्राउ परेपछि चीनले चिन्ता व्यक्त गरेको छ । बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड लुटिएको घटनामा चिनियाँ दूतावासले चासो देखाएको हो । प्रकरणमा ६ जना चिनियाँ नागरिक पक्राउ परेपछि दूतावासले प्रतिकृया जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार दूतावासबाट आएको एउटा टोलीले हिरासतमा रहेका अभियुक्तसाग भेटघाट पनि गरेको छ ।

[caption id="" align="aligncenter" width="1200"] File Photo[/caption]

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भने दूतावासका अधिकारीले भेट्नु सामान्य भएको बताउनुभयो । टोलीले अनुसन्धानमा सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको प्रहरीसमक्ष बताएको छ । शनिबार मध्यराति चलाइएको प्रहरी अपरेशनमा चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ पक्राउ परेका थिए ।

पहिलो अपरेशनमा भाग्न सफल सु लुसली आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रहरीले जय नेपालको होटल माया मनोहर बुटिकबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

अवैध सटहीमा सहयोग गरेको भन्दै ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

सम्बन्धित खबरहरु