नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित मिर्जापुरमा प्रहरीले एक स्थानीय पत्रकारविरुद्ध मुद्दा हालेको छ। मध्यान्हको खानामा बालबालिकालाई रोटी र नुन खुवाएको खबर छापेको आरोपमा उनीविरुद्ध मुद्दा परेको हो। पत्रकार पवन जायसवालले षड्यन्त्र गरेर उत्तर प्रदेश सरकारलाई बदनाम गराएको आरोप प्रशासनले लगाएको छ। मिर्जापुरका प्रहरी अधिकारी अवधेशकुमार पाण्डेले भने, ‘जिल्ला अधिकारीको तर्फबाट अनुसन्धान गरेपछि पत्रकार जायसवाललगायत तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ।’

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा एक जनालाई पक्राउ गरिएको उनले बताए। स्थानीय हिन्दी अखबारमा काम गरिरहेका पत्रकार जायसवालले बीबीसीलाई भने, ‘मेरो कामलाई लिएर मलाई निशाना बनाइएको छ। उजुरी दर्ता भएपछि म डराएको छु।’ पवनविरुद्ध फौजदारी षडयन्त्र र धोकाबाजीको मुद्दा दर्ता गरिएको छ। यद्यपि उनले आफूमाथिको एफआईआरको प्रतिलिपि प्राप्त भइनसकेको जनाएका छन्।

 

भिडियोमा के थियो ?

पत्रकार पवनले मिर्जापुर जिल्लाको जमालपुर विकास खण्डको प्राथमिक विद्यालय शिउरमा मध्यान्हको खानामा नुनसँग रोटी खाइरहेको भिडियो रेकर्ड गरेका थिए। उनले बनाएको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। जसका कारण स्थानीय प्रशासनको भूमिकाबारे गम्भीर प्रश्न उठाइयो। पवनले भनेका छन्, ‘धरै दिनदेखि गाउँका मानिसहरूले मसँग विद्यालयको खानामा भएको अनियमितताबारे फोनमा कुरा गर्दै आएका थिए। उनीहरूले मिडियामार्फत् यो विषय प्रशासनसमक्ष पुर्याउन आग्रह गरिरहेका थिए।’ अगस्ट २२ मा गाउँबाट उनलाई फोन आयो।

मैले विद्यालय पुग्नुअघि आधारभूत शिक्षा अधिकारीलाई खबर गरिसकेको थिएँ, उनले भने, जब म १२ बजेतिर विद्यालय पुगेँ, त्यँहा बच्चाहरू नुनसँग रोटी खाइरहेका थिए। मैले तत्काल भिडियो बनाएँ।’ पवनले भनेका छन्, ‘बच्चाहरूका लागि खानामा केवल रोटी मात्र बनाइएको थियो। तरकारीको सट्टा नुन दिइएको थियो।’ ‘म पत्रिकाका लागि काम गर्छु। मैले जिल्लास्तरका पत्रकारलाई यो भिडियो पठाइदिएँ।

त्यसपछि यसबारे जिल्लाका अधिकारीहरूसँग उनीहरूले प्रश्न गरेका थिए,’ उनले भने, ‘भिडियो बाहिर आएपछि जिल्ला प्रशासनले छानबिन गर्यो र दुई जनालाई निलम्बन पनि गरिएको छ।’ स्थानीय प्रशासनले यस प्रकरणमा पाँच पटकसम्म छानबिन गरेको छ। भिडियो र घटना सही पाइएका छन्। यसको अनुसन्धान जिल्ला विकास अधिकारी प्रियंका निरञ्जनले गरेकी थिइन्। जिल्ला विकास अधिकारीले यसबारे लिखित रुपमा गुनासो गर्न भनेको पवनले बताए। उनले भने, ‘मैले उनलाई भनेको थिएँ, म एक पत्रकार हुँ। मेरो काम भनेको रिपोर्ट गर्नु हो, मलाई कुनै पनि कुरामा पक्ष बनाउनु हुँदैन।’

सूचना दिने पक्राउ

पवनका अनुसार विद्यालयमा भएको अनियमितताबारे जानकारी गराउने व्यक्तिलाई हिरासतमा लिएको छ। ‘यो कुरा उजागर भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले छानबिनको आदेश दिए। ुत्यस बेलादेखि स्थानीय अधिकारीहरूले आफू सुरक्षित रहनाका लागि मलाई फसाइ रहेका छन्,’ पवनले भने। पवनलाई आईपीसीको धारा १२० बी ९आपराधिक षडयन्त्र०, ४२० (धोखाधडी) र १९३(झूटा प्रमाणहरू बनाउने) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले आफूलाई पनि पक्राउ गर्छ कि भनेर पवन डराइरहेका छन्।

बालबालिकालाई खानामा नुन र रोटी खुवाएको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासनले विद्यालयमा धेरै चोटि अनुसन्धान गरेको छ। अनुसन्धान गर्न गएका आधारभूत शिक्षा विभागका अधिकृत धर्मेश पाण्डेले भने, ‘हामी अनुसन्धान गर्न स्कूल गयौं। बच्चाहरूलाई नुन र रोटी खुवाएको पायौं। भान्सेले तरकारी आउन ढिलो भएकाले नुन र रोटी खुवाएको जानकारी दिए।’ जिल्ला अधिकारी अनुराग तिवारी आफैंले विद्यालय पुगेर अनुसन्धान गरेका थिए। जिल्ला अधिकारी तिवारीलाई यस सम्बन्धमा जिल्ला प्रशासनको धारणा जान्न धेरै पटक कुरा गर्ने प्रयास गरे पनि उनले कुनै जवाफ दिएनन्। यद्यपि उनले घटनास्थलमा अनुसन्धान गरेको मिडियालाई दिए।

‘यो ठूलो अनियमितता हो। बच्चाहरूलाई सरकारले फलफूल र दुध पनि उपलब्ध गराएको छ। खानाको पैसा गाउँका प्रधान समक्ष आउँछ,’ उनले भने, ‘जुन दिन भिडियो बन्यो त्यो दिन बच्चाहरूलाई दाल र रोटी दिइनुपर्ने थियो। जब कि त्यो दिन रोटीसँग नुन दिइएको छ। यो ठूलो अनियमितता भएकोले यस सम्बन्धमा दुई जनालाई निलम्वित गरेको उनले जनाकारी दिए। जिल्ला प्रशासनले दर्ता गरेको एफआईआरमा पवन जयसवाल र राजकुमार पाल नामका व्यक्तिले एक षडयन्त्र अन्तर्गत बच्चाहरूको नुन रोटी खाएको भिडियो बनाएको दाबी गरिएको छ।

विद्यालयमा तरकारीको कमी छ भन्ने विषयमा गाउँपञ्चायतका प्रतिनिधि जानकार थिए र उनी जानकार हुँदाहुँदै पनि जानीबुझी भिडियो बनाएको प्रशासनले दाबी गरेको छ। उजुरीमा भनिएको छ, ‘मध्याहन्नको खानाको व्यवस्था गर्नु गाउँ प्रमुखको जिम्मेवारी हो, उनका प्रतिनिधिले तरकारी अभावबारे थाहा पाएपछि प्रमुखलाई खबर गरेर भान्सेलाई तरकारी उपलब्ध गराउनु पर्ने थियो।’

मध्यान्हको भोजन भनेको केन्द्र सरकारको महत्वाकांक्षी योजना हो। यसअन्तर्गत प्राथमिक तहका बालबालिकालाई निःशुल्क पौष्टिक खाना उपलब्ध गराइन्छ। यसको उद्देश्य ग्रामीण क्षेत्रका बच्चाहरूको कुपोषण अन्त्य गर्नु हो। पत्रकार पवन जयसवालले बनाएको भिडियो भाइरल भएपछि भारतको राष्ट्रिय मानव अधिकार आयोगले उत्तर प्रदेश सरकारलाई नोटिस नै जारी गरेको छ। एजेन्सीको सहयोगमा थाहा खबरका लागि केशव घिमिरेले तयार पारेको सामाग्री साभार

सम्बन्धित खबरहरु