काठमाडौं । नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।
निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो । ‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’
निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो ‘जेक्याब’लाई इमेल पठाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
यो पनि, त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या फेरि दोहोरिन थालेको हो । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी पिडित बनेका छन् ।
अघिल्लो शनिबार भदौं ७ गते मलेसियाको मालिन्दो एयरबाट काठमाडौं आएका हुलाक सेवा विभाग र फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कर्मचारीको झोलाबाट नेपाली रुपैयाँ, कपडा, मिठाइ र चकलेट चोरीएको हो ।
सरकारी काममा इन्डोनेसिया गएर मलेसिया हुँदै फर्केको टोलीका चारवटा झोलाबाट उक्त समान हराएको सम्बद्ध यात्रुले बताए । ताला लगाएर बुझाएको झोला काठमाडौंमा ताला तोडेको अवस्थामा भेटिएको उनीहरुले बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।