काठमाडौ । उर्जा मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङले विदेशी पेट्रोल खपत ह्वात्तै घटाउने लक्ष्य लिएका छन् । पेट्रोल खपत घटाउन विद्युतीय सवारी भित्र्याईने र त्यसका लागि सस्तो मुल्यको चार्ज स्टेशन राख्ने लक्ष्य छ । यसका लागि सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।

विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको प्रयोगलाई देशवयापी बनाउन प्रर्याप्त मात्रामा चार्जिङ स्टेशन निर्माण गर्ने कार्यक्रम समावेश छ ।

सरकारले केही दिन पहिले मात्रै साझा यातायातलाई ३०० विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेट उपलब्ध गराइसकेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझा यातायातसँगको सहकार्यमा नै विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरेको छ । चार्जिङ स्टेशनका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । त्यस्ता स्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन बोलपत्रको कामसमेत शुरु भएको छ ।

प्राधिकरणका अनुसार हाल १३ वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकता दिन लागिएको हो । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको आर्कषणसमेत बढ्दै गएको छ । निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारी साधनको दैनिक सञ्चालन खर्चसमेत निक्कै कम हुने भएकाले पनि आर्कषण बढेको हो । मन्त्री पुनले विद्युतीय सवारी साधनका लागि मन्त्रालयका तर्फबाट आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप एक हजार २०० मेगावाट भन्दा बढी विद्युत् जोडिने भएकाले पनि विद्युत् खपत बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणका तर्फबाट काम शुरु भइसकेको छ । त्यसो त प्राधिकरणमा यसअघि नै चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेको छ ।यस्तै प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीले पनि विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालन गरिसकेको छ । तर चार्ज गर्दा तिर्नुपर्ने महशुलको विषयमा भने हालसम्म निर्णय हुन सकेको छैन । प्राधिकरणले सो विषयमा समेत छिट्टै निर्णय हुने जनाएको छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु