काठमाडौ । श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको छ । श्रीलङ्काको कटुनायक स्टेडियममा भएको खेलमा नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २८५ रनको योगफल बनायो । नेपालका लागि यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

समूह बी मा दुई खेल गुमाएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् ।

त्यस्तै सन्दिप जोराले ४८ रन बनाउँदा आशिफ शेखले ४५, राशिद खानले ४४, कमल सिहले ४१ तथा कौशल मल्लले २२ रन जोडे । बलिङतर्फ आकाशा ताहिर र सञ्चित शर्माले तीन तीन विकेट लिए भने पलानीपान मैयाप्पानले दुई विकेट झारे । त्यस्तै रिसब मुखर्जीको नाममा एक विकेट रह्यो ।

यस समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगिसकेको छ । नेपाल र युएईविरुद्वको पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले चार खेलमा जित हात पारेको छ भने एक खेलमा युएई विजयी भएको छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु