काठमाडौ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेपछि रोजगारीका लागि दुई वर्ष युकेमा बस्न पाउने नयाँ प्रस्ताव ब्रिटेनको गृहमन्त्रालयले गरेको छ । यो कदमले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको ४ महिनाभित्रै देश छाडिसक्नुपर्ने नियमलाई उल्ट्याएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अहिलेको परिवर्तनले विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने र युकेमा नै आफ्नो करियरको सुरूवात गर्न सक्ने बताएका छन् । तर अभियानकर्ताहरूको समूह माईग्रेशन वाचले यसलाई पश्चगामी कदम भनेको छ । अहिलेको परिवर्तन अर्को वर्षदेखि युकेमा स्नातक तह वा त्योभन्दा माथिको तहमा अध्ययन सुरू गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा लागु हुनेछ ।

अघिल्लो वर्ष त्यस्ता विद्यार्थीहरूको सङ्ख्या झण्डै ४ लाख ५० हजार रहेको थियो । त्यसका लागि विद्यार्थीहरूले नियमित रूपमा आप्रवासन जाँच गराउने ट्रयाक रेकर्ड भएका शिक्षण संस्थामा अध्ययन भने गर्नुपर्नेछ । अहिलेको प्रस्तावमा विद्यार्थीहरूले गर्न पाउने कामको प्रकृतिमा कुनै नियमन गरिएको छैन र अधिकतम सङ्ख्याको सीमा पनि तोकिएको छैन ।

बीबीसीका गृह मामिला सम्पादक मार्क इस्टन भन्छन्, ‘यदी सरकारभित्र आप्रवासनबारेको नयाँ सोच कस्तो छ भन्ने प्रमाण कसैलाई चाहिएको भए, सबै विदेशी विद्यार्थीहरूलाई अध्ययन पूरा गरेको दुई वर्षसम्म बस्न दिने भनेर आज गरिएको घोषणाले त्यसलाई प्रस्ट पार्छ ।’

‘टरिजा मेले आप्रवासनको नियमसँग सम्बन्धित, उनकै शब्दमा, जोखिमपूर्ण वातावरणलाई देखाउँदै नेट माइग्रेसन भनिने आउने र फर्कने दरमा रहेको दशौँ हजारको भिन्नता नियन्त्रण गर्ने महत्त्वाकांक्षा सहित त्यो प्रावधान ल्याएकी थिइन् । बोरिस जोन्सनले त्यो लक्ष्यलाई खारेज गर्ने घोषणा गर्दै उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरूलाई ब्रिटेनमा आउन, बस्न र काम गर्न प्रोत्साहन गर्ने वाचा गरेका छन् ।’

चान्सलर साजिद जाविदले ट्वीट गर्दै उक्त कदम समयानुकुल भएको भन्दै सरकारले वर्षौँ अघि उक्त ‘मूर्खतापूर्ण नीति’ खारेज गर्नुपर्ने थियो भनेका छन् । अघिल्लो हप्ता आफ्ना दाइको नेतृत्वमा रहेको मन्त्रिपरिषदबाट राजीनामा दिएका पूर्व विश्वविद्यालय मन्त्री जो जनसनले सर्वदलीय अभियानपछि ‘अन्त्यमा सफलता हात परेको’ बताएका छन् ।

युनिभर्सिटिज युकेका प्रमुख कार्यकारी एलिस्टर जार्भिसले यो निर्णयको स्वागत गर्दै यसले युकेको अर्थतन्त्रलाई लाभ पुर्‍याउने र अध्ययनको पहिलो गन्तव्य बनाउने बताएका छन् । उनले भने, ‘प्रमाणहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले उल्लेख्य सकारात्मक सामाजिक प्रतिफलहरू ल्याउने र त्यसका साथै २६ अर्ब पाउन्ड बराबरको योगदान अर्थतन्त्रमा पुर्‍याउने गरेको देखाएको छ। तर अध्ययन पूरा गरेपछि काम गर्ने अवसर नभएकाले लामो समयदेखि त्यस्ता विद्यार्थीको पहिलो रोजाइमा पर्न यूके सकिरहेको थिएन ।’

तर माइग्रेशन वाच यूकेका अध्यक्ष एल्प मेहमेटले उक्त निर्णय सही नभएको र त्यसले अध्ययन पूरा गरेका विदेशी विद्यार्थीहरूलाई सानातीना काममा अल्झिने अवस्था निम्त्याउनसक्ने बताए । उनले थपे, ‘हाम्रो विश्वविद्यालयहरूले अहिले पनि कीर्तिमानी सङ्ख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गरिरहेका छन्। त्यही भएर काम गर्न आउने प्रयोजनका लागि प्रयोग गर्ने गरि अहिले हाम्रो अध्ययन भिसालाई अवमूल्यन गरिरहनुपर्ने अवस्था थिएन ।’

भारतीय विद्यार्थी श्रेया स्वामीले अहिलेको प्रस्ताव एकदमै महत्त्वपूर्ण भएको तर त्यसले उनलाई दुखी बनाएको बताएकी छन्। उनले अहिले नै यूकेमा बसिरहेका विद्यार्थीहरूलाई त्यसले सहयोग नगर्ने बताइन् । स्नातकोत्तर अध्ययन गरिरहेकी उनले ४ महिनासम्म मात्रै बस्न पाउने अहिलेको नियमका कारण आफूले एकदमै संघर्ष गरिरहेको उनले बताइन् ।

उनले विदेशबाट आएर यूकेमा अध्ययन गर्नेहरूका लागि अनुभव सहितका कारणले लगभग सून्य रोजगारीको अवसर रहेको बताइन् । ‘म यो नारकीय अवस्थाबाट गुज्रेकी छु र पछिल्ला महिनाहरूमा अब भविष्यमा के गर्ने भन्ने निर्क्यौल गर्न खोजिरहेको छु किनभने यूकेमा कुनै पनि अवसर पाउन व्यावहारिक रूपमा असम्भव जस्तै छ ।’

‘मैले एकदमै सहायता नपाएको महसुस गरेकी छु र यहाँ अध्ययन गर्न आएर गल्ती गरेको जस्तै मलाई लागिरहेको छ किनभने म एउटा एकदमै महँगो कागजको खोस्टो लिएर घर फर्कन गइरहेकी छु ।’ प्रतिपक्षी दलका छाया गृहमन्त्री डिआन एब्बटले लेबर दलले सधैँ अध्ययन पूरा गरेका विद्यार्थीहरूले यूकेमा काम गर्न पाउनुपर्ने धारणा राखेको बताइन् ।

‘यसले उनीहरूलाई हाम्रो अर्थतन्त्र, विश्वविद्यालय र अनुसन्धानमा योगदान गर्ने अवसर दिनेछ साथै विश्वभरका तेजिला र उत्कृष्टहरूलाई आकर्षित गर्न पनि मद्दत गर्नेछ ।’ उनले विगतमा सरकारहरूले त्यसप्रकारको नीति नलिनु ठूलो दुस्खको विषय भएको बताइन् ।

सरकारी घोषणा स्वास्थ्य र परोपकारको क्षेत्रमा कार्यरत निकाय युके बायोब्याङ्कले २०० मिलियन पाउण्ड लागतको एउटा अनुसन्धान परियोजना अघि बढाउने निर्णय गरेसँगै आएको हो । यूके बायोब्याङ्कले ब्रिटेनका ५ लाख स्वयंसेवकबाट डिएनएका नमुना र स्वास्थ्य सम्बन्धी प्रश्नावलीहरू संकलन गरेको छ ।

उसले ती स्रोत रोगको नयाँ उपचार पद्धति विकास गर्न संसारको जुनसुकै कुनामा रहेका अनुसन्धानकर्ताहरूलाई खुल्ला गर्ने पनि जनाएको छ । प्रधानमन्त्री जोन्सनले यस्तो प्रकृतिको परियोजना संसारभरका उत्कृष्ट विद्यार्थीहरूलाई यूकेमा आउने र अध्ययन अनि काम गर्ने अवसर उपलब्ध नगराइ पूरा हुन नसक्ने बताए ।

उनले अन्तर्राष्ट्रिय साझेदारीमा ब्रिटेनको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्दै विश्वको सबैभन्दा ठूलो अनुवांशिक अनुसन्धान कार्यक्रममा संसारभरका विज्ञहरूलाई काम गर्न यूकेमा निम्त्याउनुपर्नेमा जोड दिए । बीबीसी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु