हेलन ब्रिग्ज / बीबीसी । भीमकाय स्यालम्यान्डरका तीनवटा प्रजाति छन् । भर्खरै छुट्टै प्रजाति भएको पत्ता लागेको एउटा जीव संसारकै सबैभन्दा विशाल उभयचर भएको हुन सक्ने आधार फेला परेको छ।

सङ्ग्रहालयमा राखिएका नमुनाहरूबाट सङ्कलित डीएनएको अध्ययनपछि साउथ चाइना जाइअन्ट स्यालम्यान्डर नामक उक्त जीव जल तथा थल दुवै ठाउँमा बस्ने ठूलो प्राणी हुन सक्ने देखिएको हो। झन्डै दुई मिटर लामो हुने उक्त जीवलाई प्राकृतिक वासस्थानमा अतिसङ्कटापन्न मानिन्छ। वैज्ञानिकहरूले उक्त जीवलाई लोप हुन नदिन परिष्कृत प्रयास गरिनुपर्ने बताएका छन्।

चीनमा मासुका लागि ती भीमकाय छेपारालाई मारिने भएकाले तिनको सङ्ख्या ह्वात्तै घटेको छ। पहिला भीमकाय स्यालम्यान्डरको एउटा मात्र प्रजाति भएको भन्ठानिन्थ्यो। तर जीवित तथा मृत नमुनाको सङ्कलन गरेपछि चीनका विभिन्न स्थानमा तीनवटा प्रजाति भएको पत्ता लाग्यो।

तीमध्ये साउथ चाइना जाइअन्ट स्यालम्यान्डर सबैभन्दा ठूलो छ। अनुसन्धानकर्ताहरूले यो अहिले जीवित उभयचरमध्ये सबैभन्दा ठूलो प्रजाति हुन सक्ने बताएका छन्। जूअलजिकल सोसाइटी लन्डनका प्राध्यापक स्याम्यूअल टर्भेका अनुसार प्राकृतिक वासस्थानमा ती जीवको सङ्ख्या अत्यासलाग्दो गरी घटेको छ।

सन् १९२० को दशकमा सङ्कलित नमुना
ती जीवको प्रजातिगत विविधताबारे यो नयाँ ज्ञानले तिनको संरक्षणमा सहयोग पुग्छ भन्ने आशा भएको उनले बताए। तर जीवित भीमकाय स्यालम्यान्डरको सङ्ख्या जोगाउन आकस्मिक उपाय चाहिन्छ। यो अनुसन्धानकर्तामा सहभागी भएकी उक्त सङ्ग्रहालयकी मेलिसा मारले ती प्रजातिको आनुवंशिक शुद्धता कायम हुने हुनेगरी संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन्। चाइनिज जाइअन्ट स्यालम्यान्डरलाई जोगाउन तत्काल हस्तक्षेप गर्नुपर्ने बेला भएको बेला यी तथ्यहरू पत्ता लागेका छन्, उनले भनिन्।

चाइनिज जाइअन्ट स्यालम्यान्डर के हो ?
कुनैबेला चाइनिज जाइअन्ट स्यालम्यान्डर मध्य र पूर्वी एशिया तथा दक्षिणी चीनमा पाइन्थ्यो। केही दशकयता सो जीवको दोहन गर्ने क्रम बढेको छ। त्यसको मासुको विलासी खाद्य बजारमा ठूलो माग छ। मासुको माग पूरा गर्न छेपारोजस्तै देखिने उक्त जीव व्यावसायिक रूपमा पाल्न थालिएको छ। त्यसो गर्दा सरुवा रोग तथा अवैध सिकारका कारण जङ्गली स्यालम्यान्डर पनि खतरामा पर्छन्।

वैज्ञानिकहरूले सङ्ग्रहालयमा भएका नमुनाको आनुवंशिक इतिहासको अध्ययन गरे। निकै प्राचीन मानिएको उक्त जीवलाई जीवित जीवावशेषू मानिन्छ। लन्डनस्थित चिडियाखानमा राखिएको चाइनिज जाइअन्ट स्यालम्यान्डर एउटा अस्वाभाविक जीव भएकाले सन् १९२० को दशकमा पहिलोचोटि त्यो छुट्टै प्रजाति भएको मत व्यक्त गरिएको थियो। अनुसन्धान टोलीले सङ्ग्रहालयमा राखिएको सोही जीवको संरक्षित शरीरको अध्ययन गरेर नयाँ प्रजातिका स्वभावको वर्णन गरेका हुन्। यो अनुसन्धान इकलजी एन्ड एभल्यूशन जर्नलमा प्रकाशित भएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु