जितबहादुर भण्डारी
पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पर्यटकीयस्थलका रुपमा परिचित तिम्बुपोखरी जाने मौसम शुरु भएको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने समयमा तिम्बुपोखरी जान उचित समय मानिन्छ । वर्षेनी कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् ।

[caption id="" align="aligncenter" width="2438"] File Photo[/caption]

चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ । समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ । यसलाई विष्णुपोखरीसमेत भनिन्छ । यहाँ पूजा गर्न जाने प्रशस्तै भेटिन्छन् । यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । वर्षेनी यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बुपोखरी नजिकैको थाङमाखोलाका गोठ सञ्चालक मदन गौतमले बताउनुभयो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

तिम्बुपोखरीसँगै पहाडे मेगु, फालोटलगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै तिम्बुपोखरीको प्रचार र महत्व बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारीले जानकारी दिनुभयो । पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रूपमा मानिएको छ । यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रामा तिम्बुपोखरी पुगिन्छ ।

यहाँ प्रशस्त लेकाली जडीबुटीसमेत पाइन्छन्, ठाउँ–ठाउँमा गोठहरु छन् । यहीँ चौरी, उराङ र याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नुपर्छ । स्थानीयवासी यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैँचा, कालीखोला हुँदै यहाँ पुगिन्छ ।

भारतको सिक्किमको सिमाना नजिकै रहेको तिम्बुपोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मीपोखरी पुगिन्छ । अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा र चिटिक्क देखिन्छ । लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भावना भने उत्तिकै हुन्छ । गोठमा बास बस्दै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् ।

यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नुपर्छ । यो क्षेत्र उति धेरै महङ्गो छैन । यहाँ जाँदा एक्लैभन्दा पनि समूहमा जाने र पथप्रदर्शक लिएर जानुपर्ने हुन्छ । अग्ला–अग्ला पहाड आकर्षक छन् । सिक्किमको सिमाना नजिक छ । चाँैरी, भेडा, याक, उराङसँग रमाउँदै उकालो चढ्न सकिन्छ । कतिपय मानिस तिम्बु हुँदै सिक्किमको लक्ष्मीपोखरीसम्म पुग्ने गर्छन् ।

तिम्बुपोखरीमा आउनेको सङ्ख्या बढ्दै गएको संरक्षणको क्षेत्रमा क्रियाशील रहेका मन्जित राईले बताउनुभयो । वर्षेनी सो क्षेत्र पुग्ने उहाँको अनुभवमा पछिल्ला वर्षमा तिम्बुपोखरी र यहाँ रहेका दृश्यले धेरैको मन तानेको छ । सन् २०२० लाई पर्यटन वर्ष मनाइरहँदा तिम्बुपोखरी पनि आकर्षक गन्तव्यका रुपमा लिन सकिन्छ ।

यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर यात्राका क्रममा बास बस्ने गोठ व्यवस्थित बनाइने, पदमार्गलाई सुधार गरिने र पर्यटन प्रवद्र्धन गर्न तिम्बुपोखरी महोत्सवसमेत सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको पाँचथर याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ बताउनुहुन्छ । रासस

सम्बन्धित खबरहरु