काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि हुनुहुन्छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीसहित सरकारी अधिकारीले बिदाइ गर्नुभयो ।

चौहत्तरौँ महासभामा ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुनेछ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नुहुनेछ ।

महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनुहुनेछ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ ।

मन्त्री ज्ञवालीले असंलग्न आन्दोलन ९नाम०, जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नुहुनेछ भने एशियाली सहयोग संवाद ९एसिडी० को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुनेछ भने संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्यूयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी शिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नुहुनेछ ।

यसअघि महासभाकै सिलसिलामा हुने विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र जलवायु परिवर्तनसम्बन्धी अर्को उच्चस्तरीय बैठकमा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्यूयोर्क प्रस्थान गरिसक्नुभएको छ । दिगो विकाससम्बन्धी बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका दुई सदस्य पनि आजै त्यसतर्फ प्रस्थान गर्नुभएको छ । रासस

सम्बन्धित खबरहरु