काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित काम नहुने बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतमा नागरिकलाई घर आँगनमा सेवा दिन खोज्दा कतिपय नजिकैको कार्यालयहरु टाढा पुगेको भन्दै त्यसलाई व्यवस्थापन गरिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष दाहालले आम नागरिकको चाहनाअनुसार सबै चिजको व्यवस्थापन गर्दै लैजाने बताउनुभयो । पर्यटन दिवस २०७६ का अवसरमा दोलखाको पर्यटकीय नगरी जिरीमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दोलखा र जिरीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिरी विकासबाट टाढा रहन नसक्ने भन्दै उहाँले सगरमाथाको प्रवेशद्वारको रुपमा मानिने जिरीमा पहिले सञ्चालनमा रहेका विमानस्थल सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो ।

दोलखाको जिरीमा सञ्चालनमा रहेको रेडियो जिरी तथा जिरी नगरपालिकाले जिरीमा आयोजना गरेको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड आज उहाँ यहाँ आउनुभएको हो । दोलखाका जनप्रतिनिधि तथ सांसद पार्वत गुरुङले दोलखाको हरेक क्षेत्रहरु पर्यटकीय महत्व बोकेको र त्यसमा पनि जिरी विशेष रहेकाले सबैले मिलेर विकास गर्नुपर्ने बताउनुभयो ।

जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले दोलखालाई अर्गानिक जिरी बनाउने गरी कार्यक्रम अगाडि बढाएको जानकारी गराउनुभयो । दोलखाको जिरीलाई प्लास्टीक मुक्त नगर बनाउने अभियानअनुसार अध्यक्ष प्रचण्डलाई स्थानीय उत्पादन नेपाली कागजको झोलामा राखेर प्रदान गरिएको थियो । दोलाखामा अध्यक्ष प्रचण्डले तेन्जिङ नोर्गे शेर्पा र एडमन हिलारीको शालिक आनावरण गर्नुभयो । जिरी नगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्नुभएका अध्यक्ष प्रचण्ड जिरी एफएमको दोस्रो वार्षिक साधारणसभा कार्यक्रममा सहभागी हुनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु