काठमाडौ । सरकारी गाडीको दुरुपयोग रोक्न थुप्रै पटक अभियान सञ्चालन गरियो तर समस्या यथावत् नै छ । अझ उच्चपदस्थ सरकारी अधिकारीले पारिवारिक घुमघाम, किनमेल र घराशयी सामग्री ओसार–पसारमा सुविधाको गाडी प्रयोग गरी सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका कर्मचारीले सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको देखिएको छ ।

उनीहरू कार्यालय समयभित्र नै सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको पाइएको हो । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबले तामझामका साथ सिंहदरबारस्थित बग्गीखाना नजिकै २३ भदौमा उद्घाटन गरेको सहुलियत पसलमा सर्वसाधारणभन्दा कर्मचारीको भीड बढी देखिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी शर्मिला प्रधानले सहुलियत पसलमा सामान किन्न सर्वसाधारणभन्दा बढी कर्मचारी र गाडी भएका व्यक्ति धेरै आउने गरेको बताइन् । करिब ७० प्रतिशत सरकारी कर्मचारी, २५ प्रतिशत गाडी भएका र ५ प्रतिशत जति मात्र सर्वसाधारण सहुलियत पसलमा सामान किन्न आउने गरेको उनले बताइन् । ‘यहाँ आउने अधिकांशले चिनी र नुन किन्ने गरेको छन्’, उनले भनिन्, ‘सरकारी कर्मचारीले गाडी नै ल्याएर चिनी, नुन, तेल, गेडागुडी र चामललगायत खाद्यान्न सामग्री किनेर लग्ने गरेका छन् ।’

प्रधानका अनुसार, सर्वसाधारणलाई गाडीमा आउने जाने खर्च नै बढी पर्ने हुँदा उनीहरू कमै संख्यामा यहाँ आउने गरेका छन् । धेरै जसो सिंहदरबार वरिपरिका कर्मचारी नै बढी आउने गरेका छन् । साल्ट टे«डिङ कर्पोरेसनले सहुलियत पसलबाट दैनिक करिब ३ लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको उनले बताइन् । घटस्थापनापछि दैनिक करिब ५ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान उनको छ ।

दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चलानमा ल्याएदेखि बिहीबारसम्म ३ लाख ५० हजार रुपैयाँको कारोबार गरेको छ । सहुलियत पसलमा अधिकांशले घिउ खरिद गरेर लग्ने गरेकोे संस्थानले जनाएको छ । संस्थानका अनुसार सहुलियत पसलबाट अहिलेसम्म ३ लाख ७९ हजार ९५० रुपैयाँको घिउ बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक करिब ५०र६० हजारको कारोबार गर्ने गरेको जनाएको छ ।

कम्पनीका अनुसार गत वर्षभन्दा यो वर्ष व्यापार घटेको हो । गत वर्ष दैनिक करिब ८०र९० हजार रुपैयाँसम्म कारोबार हुने गरेकोमा यो वर्ष ५०र६० हजार रुपैयाँको मात्र कारोबार हुने गरेको कम्पनीले जनाएको छ । घटस्थापना पछि कारोबार बढ्ने कम्पनीको विश्वास छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतका साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान ९डीडीसी०ले पसल सञ्चालन गरेर सहुलियतमा सामान उपलब्ध गराएका छन् ।

सहुलियत पसलमा प्रतिकिलोग्राम मोटा चामलमा पाँच, मसिनो चामलमा १०, चिनीमा पाँच, खसी बोकामा १० र नुनमा दुई रुपैयाँ छुट दिएको छ । डीडीसीले भने प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिएको बताइएको छ । सुपथ मूल्यका पसलमा अहिले प्रतिकेजी चिनी ७२, नुन १८, जापानिज चामल ६१, अरुवा जिरा मसिनो चामल ५०, सोना मन्सुली चामल ४२, बास्मती चामल ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो ४ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै, घिउको मूल्य प्रतिकेजी ८ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी, कर्णालीको सिमी प्रतिकेजी १ सय २० र फापर ७० रुपैयाँमा बिक्री भइरहेको छ । कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालनमा रहेका छन् ।

यसैगरी, डीडीसीले उपत्यकामा लैनचौर, न्युरोड, खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ र पनिर बिक्री गर्ने भएको छ । यसैगरी, उपत्यकाबाहिर विराटनगर, जनकपुर, ढल्केवर, हैटौंडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् ।राजधानी दैनिकबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु