काठमाडौ । चाडपर्वको बेला मौकामा चौका हान्नेहरुको कमी छैन । यसैले दशैँ–तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने, कालो बजारीमा टिकट बिक्रि हुने धेरै पहिले देखिको नै समस्या हो । तर यो बर्ष उक्त ठगी गर्नेलाई सरकारले कडाई गरेको छ । लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ ।

चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका समस्या परेमा १०३ मा फोन गरेर जानकारी गराउनु हुन अनुरोध छ ।

काठमाडौ उपत्यकामा भएका १४ वटा सहायता कक्षमा भाडा दर टाँसिएको छ, त्यही अनुसार यात्रुले टिकट काट्न सक्नेछन् । टिकट सजिलोरुपमा नपाएको भन्दैमा बढी भाडा दिएर टिकट कसैले पनि लिन हुँदैन, एक जनाले बढी पैसा तिरेर टिकट लियो भने अरुलाई पनि जबर्जस्ती बढी भाडा तिर्न बाध्य बनाइन सक्छ । त्यसैले यात्रु आफैँ पनि सचेत हुनुपर्छ ।

सुरक्षित यात्रा हाम्रो अभियान–२०७६ अन्तर्गत गोंगबु नयाँ बसपार्कमा लामो दुरीका बसमा सुरक्षा जाँच भैरहेको छ । यातायात व्यवस्था विभाग, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र लोत्से मल्टि पर्पोजको सहकार्यमा शनिबारदेखि लामो यात्रा गर्ने सबै गाडीको सुरक्षा जाँच गरेर मात्रै बाहिर पठाइएको छ ।

असोज १५ गतेसम्म चल्ने यो कार्यक्रममा सडक सुरक्षाका विषयलाई मध्यनजर गरेर गाडीको मर्मत सम्भारमा जोड दिइएको छ । लामो दुरीका बसमा सुरक्षा जाँच नहुँदा बीच बाटो मै गाडी बिग्रिएर अलपत्र पर्ने र दुर्घटनासमेत हुने गरेकोले यो कार्यक्रम गरेको सिप्रदीका कस्टुमर केयर डिर्पामेण्ट कर्मसियल भेकल शाखा प्रमुख साम्देङ लामाले बताउनुभयो ।

व्यापारिक सामाजिक दात्यिवलाई आत्मासात गर्दै सबै गाडीको निःशुल्क जाँचको व्यवस्था गरिएको हो । यस कार्यक्रम अन्तर्गत गोगंबु बसपार्कमा गाडीको बम्पर–टु–बम्पर चेकअप गरिन्छ । यसमा लामो दुरीमा जाने गाडीहरुको बत्तीको जाँच, गाडीको ब्रेकको जाँच, गाडीको स्टेरिङ र टायरको अवस्थालगायत सबै जाँच सिप्रदीका दक्ष प्राविधिकले गर्ने लामाले बताउनुभयो ।

सामान्यरुपमा ध्यान दिनुपर्ने सुुरक्षाका विषयलाई कार्यक्रममा समावेश गरिएको छ । यसका साथै विभिन्न ठाँउमा चेक प्वाइन्टहरु राखेर चालकहरुका लागि सचेतना र तालिम पनि दिने गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु