झण्डै तीन बर्ष अघि दुर्घटनामा यो अवस्थामा रहेका युवराज आचार्य अहिलेपनि अचेत छन् । अचेत अवस्थामा रहेका उनको निरन्तर अस्पतालमा उपचार भइरहेको छ । उपचार गर्न परिवारको भएको जायजेथा सकिएकाले अहिले घरमा लगेको जानकारी प्राप्त भएकाले सहयोगका लागि यो सामाग्री पुनः प्रस्तुत गरिएको छ ।

दुर्घटनाको पहिलो महिना

बिराटनगरको गोल्डेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बेड नम्बर ८ मा मनिटरले एकोहोरो टिकटिक आवाज दिईरहेको छ ।

बेडको दुबै तर्फको माथी उठेको रडमा दायाँ–बायाँ नै हात बाँधेको अवस्थामा बिरामी कुनै हलचल बिना नै सुतिरहेको देखिन्छ ।

घाँटीमा प्वाल बनाएर भेण्टिलेटरबाट कृत्रिम श्वास दिइएको छ । टिकटिक आवाज दिईरहने मनिटरमा ब्लड प्रेशर १२० बाई ८० मा अडिनै सक्दैन । बेला–बेला तल माथी चढ्ने–ओर्लिने गरिरहेको हुन्छ ।

नाडीको गति ७२ देखि ८० को बिन्दुमा देखि रहनै पाईन्न । यसमापनि चढ्ने–ओर्लिने गरिरहेको हुन्छ । श्वासप्रश्वासको गति आफ्नै बलमा १२ देखि १६ को बिन्दुमा देख्नै पाईन्न । भेन्टिलेटरबाट दिईएको कृत्रिम सासले धानिरहेको छ । मुटुको चाल ७२ देखि ८० को बिन्दुमा राख्न उच्च क्षमताको औषधि चढाईएको छ । अक्सिजनको मात्रा ९० प्रतिशत भन्दा धेरै तल रहेकाले भेन्टिलेटरबाटै अक्सिजन थप गराई राखिएको छ ।

अत्याधिक मात्राको दुखाई कम गराउँन तन्द्रामा रहने औषधी लगातार चढाईएको छ । उच्च क्षमताका एण्टिबायोटिक औषधी क्यानुलाबाट शरिर भित्र छिरिरहेको छ । घाँटीमा प्वाल बनाएर राखिएको पाईपबाट दिनमा १–२ पटक दालको छानेको झोल नर्सहरुले राखिदिई रहेका हुन्छन् । यो खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ३८ बर्षीय युवराज आचार्यको अवस्था हो ।

अरुको जीवन बचाउँन एम्बुलेन्सबाट उपचार गर्न अस्पताल लिएर जाँदै गर्दा उनी दुर्घटनामा परे । २०७७ असोज ३ गते बिहान २ः१० बजे सप्तरीको कञ्चनपुर भन्ने ठाँउमा उनी चढेको एम्बुलेन्स दुर्घटनामा पर्यो ।

चालकको बायाँ तर्फको अघिल्लो सिटमा बसेका उनको टाउँकोमा गम्भीर चोट लाग्यो । दुर्घटनाको केही समयमा नै प्रहरीले उनलाई उद्धार गरेर बिराटनगरको गोल्डेन अस्पताल पुर्याए ।

उनी दुर्घटना स्थलबाटै अचेत अवस्थामा पुगिसकेका थिए । अस्पतालमा पुर्याईएको केही घण्टामा ठक्करबाट टाउकोमा जमेको रगत निकाल्न अप्रेशन गरियो । न्यूरो सर्जन डा. सुदन ढकालको टीमले उनको अप्रेशन गरे । अप्रेशनपछि गरिएका सिटि स्क्यानमा अप्रेशन सफल भएको देखिन्छ । तर उनको होस अझै आएको छैन ।

घरपरिवारसँगै टोल–समाज, छरछिमेक पुरै चिन्तामा

उनी अचेतमा रहेकाले उनको परिवार मात्र हैन अहिले पुरै टोल–समाज, छर–छिमेक नै चिन्तामा छ । दशै भित्रिएपनि सबैको खुशी लुटिएको छ । सबैको कान अस्पतालबाट केही सुधारको खबर आउँछ की भन्नेमा मात्र केन्द्रीत छ । सारै सामाजिक स्वभावका युवराज समाजको दुःख, पिर, मर्कामा सहयोगका लागि अघि सरिहाल्थे । दुर्गम पहाडी भूभाग भएकाले गाउँ–समाजमा कोही बिरामी परे अस्पतालसम्म पुर्याउँन स्ट्रेचरको पहिलो काँध उनै हाल्थे ।

दु:ख, पिर, शोक, भोकमा रहेकालाई साथ दिन अघि सरिहाल्थे । बुढापाका, युवायुवती, केटाकेटी सबैमा साल्दाई उपनामले परिचित थिए । सहयोगी, आदर–संस्कारी भएकाले कसैलाई बिझाउने बनेका थिएनन् । उनको यही स्वभावका कारण नाताले सानि आमा पर्ने खोटाङ्ग कै साकेला गाउँपालिका वडा नं. ५ की ६८ बर्षीय लिलामाया घिमिरेको उपचारका लागि साथ दिन एम्बुलेन्स चढेका थिए ।

ब्लड प्रेशरले बेहोस भएर ढलेकी लिलामायालाई दिक्तेल अस्पतालले २४ घण्टाभित्र बिराटनगरको कोशी अस्पताल पुर्याएर उपचार गर्न रेफर गरिदियो । त्यहीको अस्पतालमा रहँदा–रहँदै १२ घण्टा गुज्रिसकेको थियो । बाँकी १२ घण्टामा लिलामायालाई बिराटनगर पुर्याउनुपर्ने थियो । झण्डै १० देखि १२ घण्टा त दिक्तेल देखि बिराटनगर पुग्न नै समय लाग्दथ्यो ।

बिरामी लिलामायाकी छोरी मात्र साथमा रहेकाले बिहानको रातिसम्ममा अस्पताल पुर्याउन युवराजले साथ दिए । दिक्तेलबाट साँझ ५ बजे एम्बुलेन्स हिँड्यो । एम्बुलेन्सको अगाडी युवराज बसे । पछाडी बिरामी सानीआमाका साथमा बहिनीलाई चढाए । जसरीपनि समयमा पुर्याएर आमा बचाउँने ढाडस दिँदै बहिनीसँगै एम्बुलेन्स चढेका युवराज आज आफै अचेत अवस्थामा छन् । उनलाई बाहिरी संसार थाहा छैन ।

कसरी भयो घटना ?

दुर्घटनामा एम्बुलेन्स चालक गोबिन्द प्रसाद ढुंगानाको गम्भीर लापरबाही देखिन्छ । सप्तरीको कञ्चनपुर भन्ने स्थानमा पुगेपछि उनले चलाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र निर्मलिडाँडाको स १ झ ५०१ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्यो । सोही एम्बुलेन्समा युवराजसहित ३ जना सवार थिए । दुर्घटना यस्तो भयानक भएको छ की एम्बुलेन्सको अघिल्लो भाग पूर्ण रुपमा क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रका अनुसार केही दिन अघि दुर्घटना भएर छेउ लगाएर राखिएको ट्रिपरमा एम्बुलेन्स ठोकिएको छ । एम्बुलेन्सको गति अत्यन्तै उच्च छ । उनले सोही दिशाको छेउमा रहेको एम्बुलेन्स बायाँ तर्फ मात्र पर्नेगरी बजारेका छन् । यसैले चालक पूर्ण सुरक्षित रहे । दुर्घटनाबाट बचाउँन चालकले ब्रेक नदबाएको देखिन्छ ।

प्रहरीले तयार पारेको घटनास्थलको स्थलगत प्रतिवेदनमा ब्रेक लगाएको चिन्ह नदेखिएको उल्लेख गरेको छ । चालक की कल्पनामा डुबेर वा निन्द्रा रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यदि उनले ब्रेक लगाउन सकेको भए यो क्षति हुन नसक्ने प्रहरीको दावी छ ।

अगाडीको बायाँ (यात्रु सिट) तर्फ सवार रहेकाले युवराजलाई गम्भीर चोट लाग्न पुग्यो । सवार अम्बिका घिमिरेलाई हातमा सामान्य चोट र बिरामी लिलामाया घिमिरेलाई टोउकोमा केही चोट लागेको छ । उनीहरु खतरा मुक्त छन् । चालककोपनि हातमा सामान्य चोट मात्र लागेको थियो । हाल उनी प्रहरी नियन्त्रणमा छन् ।

[caption id="attachment_232381" align="alignnone" width="960"] दुर्घटनाअघि यस्ता थिए ।[/caption]

उपचारमा कठिनाई
उनी कोमामा रहेको अब तीन बर्ष हुनेछ । नीजि अस्पतालको भेन्टिलेटर सहितको आईसीयूमा कयौँ महिना राखेर उपचार गराउँदा भएको जायजेथा सकियो ।

७५ बर्षीय बृद्ध आमा, २ छोरा र श्रीमतीसहित दिक्तेलमा विद्यालयमा सामान्य कर्मचारीको रुपमा कार्यरत युवराज बचाउँन सकेपनि सामान्य बनाउँन सम्भव देखिएको छैन । तरपनि केही सम्भव हुन्छ की भनेर अझै उपचार गराउने परिवारको अपेक्षा छ । तर पहिले नै धेरै खर्च भएकाले आफैले फेरी धान्न कठिन छ ।

फेरी काममा फर्किन वा सहज जीवन यापनमा फर्किन सक्ने हुन् या हैनन् कुनै ठेगान छैन । उनकै साहारामा रहेका बालबच्चा र बृद्धबृद्धाका लागिपनि असहज भएको छ । यसैले स्थानीय युवाहरुको पहलमा युवराजकी श्रीमती जानुका घिमिरेलाई बैक खाता खोल्न लगाएर केही सहयोगको आश्वासन दिएका छन् । उनीहरुले श्रीमती जानुकाको यो खातामा सहयोगका लागि अपिल समेत गरेका छन् । नगरपालिका र स्थानीयको यो पहल प्रसंशनीय छ ।

फोनमा सम्पर्क : जानुका पाण्डे आचार्य {युवराज आचार्य} श्रीमती ९८४२९९२१९४
खातावालाको नाम :- जानुका पाण्डे आचार्य
बैक :- राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय खोटाङ्ग दिक्तेल
बैक खाता नं. :- २०६००३४७४५१०

सम्बन्धित खबरहरु