सर्बिया । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गर्नुभएको छ । सर्बियाको बेलग्रेडमा जारी सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरण हुने बताउनुभयो ।

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य राष्ट्र सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान विषयमा अध्यक्ष तिमिल्सिनाले नेपालको धारणा व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।

नेपालले दश वर्षे शसस्त्रद्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधान सभाबाट संविधान निर्माण गर्दै अगाडि बढ्ेको उहाँले जानकारी गराउनुभयो ।

अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपासी सञ्चार र समझदारी अभिवृद्धिको एक सफल माध्यम बनेको बताउनुभयो । ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नती एवं प्रगति गर्ने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले विभिन्न जातजाती, भाषभाषीहरु, धर्म संस्कृति र समुदायका रुपमा जुनसकै देश वा महादेशमा बसेपनि मानव जातिका रुपमा एउटै भएको बताउनुभयो ।

‘शक्तिवान र धनी राष्ट्र मात्र नभई साना राष्ट्रहरुले पनि समान रुपमा अवसर प्रदान गर्ने भएकोले पारस्परिक समझदारी, विश्वशान्तिको मान्यताका आधारमा अन्तराष्ट्रिय कानूनले मान्यता प्राप्त गर्दै आएको हामी देख्न सक्छौं,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले आईपीयूमा सहभागी राष्ट्रका प्रमुख तथा प्रतिनिधिमार्फत विश्व समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो ।

‘गौतम बुद्धको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथा, १२३ भाषा भाषि र १२५ जातजाती रहेको नेपालको भ्रमण गर्न निमन्त्रणा गर्दछु,’ उहाँले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहनुभएको छ ।

त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी हुनुहुन्छ । अक्टोबर १३ देखि सुरु भएको १४१ औं सम्मेलन १७ अक्टोबर सम्म चल्नेछ ।

सम्बन्धित खबरहरु