काठमाडौं । रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गर्नुभएको छ । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उहाँ आँफै सडकमा निस्कन शुरु गर्नुभएको हो ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

विगत दुई दिनदेखि साँझ अबेरबाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडकमा जाने गर्नुभएको छ । दाहालले भन्नुभयो, “अब हामी यसलाई निरन्तरता दिन्छौ ।” आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उहाँको संकल्प छ । दाहालले भन्नुभयो, “सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर बनाउन हामी लागि परेका छौँ ।”

दुई रातको सडक अनुगमनपछि उहाँले तीन थरी मानिस सडकमा भेटिने गरेको बताउनुभयो । दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । तीमध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आफूहरु लागि परेको उहाँको भनाइ छ ।

दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको संकल्प छ । साँझ झण्डै आठ बजेबाट दाहालसहितको टोली नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ ।

सहयोगापेक्षी सडक मानव रहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भइरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडक मानवको रात्रीकालीन अवस्था अध्ययन र उद्धार भइरहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सोमबारबाट शुरु भएको बजार अनुगमनमा सहयोग पु¥याउन प्रदेशसभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गर्नुभएको छ । सोमबार पहिलो दिन ४० जनालाई उद्धार गरिएको थियो । तीमध्ये दुई जना मात्र वास्तविक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडक मानव रहेका थिए ।

उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाइएको छ । यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्धार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । घोषणा अघि र घोषणापछि पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्धार गरिने अधिकारीको भनाइ छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरवाट मानवसेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५०० जनाभन्दा बढीलाई उद्धार गरिएको अधिकारीको भनाइ छ ।

मानवसेवा आश्रमको सहयोगमा यसअघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, वुटवलको सिद्धबाबा धाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडकमानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाइएको हो । रासस

सम्बन्धित खबरहरु