काठमाडौं । आज पनि नेपालको राष्ट्रिय राजनीतिमा गहिरो छाप छोड्नसक्ने धेरै नेताहरु अहिले पनि अविवाहित छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंको भृकुटिमण्डपमा भव्य चियापान कार्यक्रम आयोजना गरेको थियो । बडादशैं, तिहार, छठ, नेपाल संवत ११४० तथा सम्पूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सत्तारुढ नेकपाकादेखि प्रतिपक्षी कांग्रेससम्मका नेता कार्यकर्ताहरुको ठुलो भीड लागेको थियो ।

चियापान कार्यक्रममा विभिन्न नेता, कार्यकर्ता, शुभचिन्तक, संचारकर्मी आ–आफ्नै विषय र चासोसंग रमाइरहेका देखिएका थिए । केही चियाको चुस्किसंगै गफ्फिरहेका थिए भने केही मिठाइ र फलफुल खाँदै गरेका देखिन्थे । यो भिडमा उभिइरहेका थिए, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा । खतिवडा उभिएकै ठाउँमा केहीबेरपछि नेकपाकी राष्ट्रिय सभा सदस्य सांसद कोमल वलीको प्रवेशले पत्रकार ऋषि धमलाले माहोल फरक बनाए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वली र खतिवडालाई केही संचारकर्मीले घेरे । सुरुमा प्रश्नकर्ता नेकपाको चियापानमा केन्द्रीत थिए । सांसद वलीले परम्परा जोगाउन, कार्यकर्ताबीचको सम्बन्ध उचाईमा पुर्याउन र आपसी मेलमिलापका लागि चियापानको महत्व दर्साइन् । एक्कासी, धमलाले वलीलाई प्रश्न गरे–‘कोमल वलीको विवाह कहिले हुन्छ ? जनता जान्न चाहन्छन् ।’ कोमल वलीले यतिबेला चियापान र शुभकामना आदानप्रदानको समय भएको भन्दै विवाहको विषयमा त्यति बोल्न चाहिनन् । आफू विवाहको बारेमा भन्दा पनि एक बफादार कार्यकर्ताको रुपमा नेकपाको कार्यक्रममा चिनिने तर्क वलीले गरिन् ।

त्यत्तिकैमा नजिकै उभिएका खतिवडालाई पनि उहि प्रश्न दोहोरियो । ‘तपाँई पनि अविवाहीत हुनुहुन्छ, भन्नुस कहिले हुन्छ तपाँइको विवाह ?’ संचारकर्मीको प्रश्न थियो । जवाफमा खतिवडाले विवाहको प्रसंग नझिक्न अनुरोध पनि गरेपनि विवाहको कुरा खुलेरै गरेका थिए । खतिवडाले भने,‘मेरो विवाहको तयारी आधा पूरा भइसकेको छ । आधा बाँकी छ ।’ एकछिन सबै अलमल्ल परे । उनले प्रस्ट्याए, ‘विवाहका लागि म आफू तयार भइसकेको छु । अब केटी तयार हुन बाँकी छ । केटी तयार भएपछि मेरो विवाह हुन्छ । त्यही भएर आधा भनेको हुँ।’

सम्बन्धित खबरहरु