काठमाडौं । लामो समय देखि विदेशमा बस्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व कुमार पन्तले पाएका छन् । उनले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने पनि बताएका छन् ।

नवौँ सम्मेलन तथा निर्वाचन कार्यक्रमका क्रममा एनआरएनएका सदस्यको अभद्र व्यवहार भद्रगोल गतिविधिको तीव्र आलोचना भएपछि पन्तले यस्तो खुलासा गरेका हुन् । उनले कोठाकोठमा आएर राजनीति गर्ने प्रयास गरिएपछि अब नेपालमा निर्वाचन कार्यक्रम नगर्ने अवस्थामा पुगेको जानकारी दिएका हुन् ।

उनले भने, ‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठाकोठामा नेताहरू ल्याएर छलफल भए ।’ जितपछि प्रतिक्रिया दिँदै पन्तले भने, ‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं ।

बरु अनलाइन भोटिङ गर्छौं ।प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं ।’ उनले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गरिने पनि जानकारी दिएका छन् ।

दक्ष कामदार उत्पादनका लागि सरकारलाई सहयोग गर्ने पनि उनले बताए । काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि पन्त विजयी भएका हुन् । उनले नेपालमा वार्षिक १० अर्व वैदेशिक लगानी ल्याउने पनि जनाएका छन् ।

यसैगरी उपाध्यक्षमा डा बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यसैगरी महासचिवमा डा हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक (अफ्रिका)मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज्)मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज्)मा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिकाज्) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिकाज्) मा विमला सापकोटा निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व)मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)मा राजु रेग्मी निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप)मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वाचित हुनुभएको छ ।

यसैगरी क्षेत्रीय संयोजक (ओसियाना)मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी हुनुहुन्थ्यो । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए ।

सम्बन्धित खबरहरु