काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत हुनुहुन्छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा कनेमले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुग्नुभएको थियो ।

सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो । उहाँका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि हुनुहुन्छ । सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वीको हुनुहुन्थ्यो ।

यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५औँ वार्षिकोत्सव मनाइँदैछ । सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले आज भेटवार्ता गर्नुभएको थियो । नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

सम्बन्धित खबरहरु