काठमाडौं । थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी ‘उपपत्नी’का सबै राजकीय उपाधि खोसिदिएका छन् । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी भित्रिनी थिइन् । तर पत्नीसरहको उपाधि दिइएको केही महिनामै उनले विश्वासघात गरेको आरोप लगाउँदै राजाले यो निर्णय लिएका हुन् ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेकी र उनले ‘आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा उल्लेख गरिएको छ । राजाले चौथी पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै सिनीनात गत जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनीनात बिलासकलयानी’को उपाधि दिएका थिए ।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ । मेजर जेनरल सिनीनात तालिमप्राप्त विमानचालक, नर्स र अङ्गरक्षक हुन् । गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथाको रचना निर्देशन दिएको बताइएको थियो । भूतपूर्व विमानपरिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा वाचिरालङ्कनककी साथी थिइन् ।

विवाहपूर्व उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा तत्कालनी युवराजसँगै देखिन्थ्यो । महा वाचिरालङ्कन सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा बसेका हुन् । उनको गत मे महिनामा राज्याभिषेक भएको हो । उनले चार पटक विवाह गरे। राजकुमारी सोमसवालीसँग उनको वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म रह्यो ।

त्यसपछि उनी युवाथिदा फोल्प्रसिथसँग १९९४ देखि १९९६ र श्रीरात सुवादीसँग २००१ देखि २०१४ सँग उनी वैवाहिक सम्बन्धमा रहे । गत मे महिनामा उनको सुथिदासँग विवाह भयो । थाईल्यान्डमा राजदरबारसम्बन्धी विषयलाई अतिगोप्य राखिने भएकाले सिनीनातको शाही उपाधि खोसिनुको कारण कहिल्यै पनि सार्वजनिक नहुन सक्छ । देशको कानुनले राजसंस्थाको अपमान गर्न दिँदैन र त्यहाँको राजद्रोहसम्बन्धी कानुनलाई धेरै कडा मानिन्छ ।

सिनीनातलाई हटाइँदा राजाका दुई पूर्वपत्नीको विषयलाई सम्झाएको छ।युवराज हुँदा उनले सन् १९९६ मा आफ्नी दोस्री पत्नी र तिनबाट जन्मेका चार छोरालाई परित्याग गरेका थिए । उनी भागेर अमेरिका गइन् । सन् २०१४ मा उनले सबै राजकीय उपाधि खोसेर तेस्री पत्नीलाई दरबारबाट निकालिदिए। उनीबाट जन्मेका छोरा अहिले १४ वर्षका छन् । उनलाई राजाले जर्मनी र स्वीट्जरल्यान्डमा राखेर हुर्काउँदैछन् ।

उनले आफ्नो राजकीय शक्ति पहिलाका राजाले भन्दा बढी प्रयोग गर्ने गरेका छन् । राजधानी ब्याङ्ककमा रहेका सेनाका दुई एकाइलाई उनले सोझेर आफ्नो नेतृत्वमा राखे। आधुनिक थाईल्यान्डमा राजाले यसअघि सैन्य शक्ति आफूसँग केन्द्रित गरेका थिएनन् । बीबीसीबाट साभार गरिएको हो ।

सम्बन्धित खबरहरु