काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ । रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो । विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महीनाभित्रमा रङ्गशाला तयार हुने बताउनुभयो । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यती सहज नभएको भन्दै उहाँले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न रु दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम रु सात करोडमध्ये रु एक करोड र नबोलीकनै सोझै रु दुई करोड सङ्कलन भएको जानकारी दिनुभयो । डिपिआरका लागि हालसम्म रु दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो । सो अवसरमा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई रु १० लाख एक हजार १११ को चेक हस्तान्तरण गर्नुभएको थियो । यसअघि रङ्गशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रङ्गशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ । रासस

सम्बन्धित खबरहरु