काठमाडौ । सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् ।

कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरेका छन् ।

यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक रु १७ हजार १०० र तामाङको परिवारले मासिक रु १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ ।

त्यस्तै निजहरुले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको सङ्कलित रकम तथा प्रतिफलसमेत जोडी हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताउनुभयो । उनीहरुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

सूचीकरणका लागि एक महीना थप

कोषमा सूचीकरणका लागि एक महीना समय थपिएको छ । यसअघि असोज मसान्तसम्म सूचीकरणका लागि तोकिएको थियो । तोकिएको समयावधिभित्र कोषमा सूचीकृत हुनुपर्ने रोजगारदाता तथा योगदानकर्ता ठूलो सङ्ख्यामा सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणका लागि समय थप गरिएको आज यहाँ आयोजिक कार्यक्रममा कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट सूचीकरणका लािग केही समय थप गर्न अनुरोध भएकाले समयावधि थप गरिएको कोषले जनाएको छ । थप गरिएको समयभित्र सबैलाई सूचीकृत हुने कोषले आग्रहसमेत गरेको छ । हालसम्म कोषमा आठ हजार ८१८ प्रतिष्ठान र एक लाख ९६८ श्रमिक सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म रु सात करोड ६५ लाखभन्दा बढी योगदान रकम सङ्कलन भइसकेको छ ।

कोषप्रति आकर्षण बढाउन नयाँ योजना ल्याइँदै

योजनामा सबै श्रमिकलाई समेट्न कोषले आकर्षक योजना ल्याउन लागेको जनाएको छ । योगदान रकम लगानी गर्नेसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । “लगानी कार्यविधि स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ”, उहाँले भन्नुभयो, “कार्यविधिमा कोषमा योगदान गर्ने योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत योगदान कर्जा ९सामाजिक, शैक्षिक र घर कर्जा० पाउने व्यवस्था गरिँदै छ ।”

कोषमा जम्मा भएको योगदान रकम मुद्दति निक्षेप, विभिन्न कम्पनीको शेयरमा लगानी, बैंक तथा वित्तीय संस्थासँग मिलेर सहवित्तीयकरणमा विभिन्न क्षेत्रमा लगानी गर्न सकिने व्यवस्थासहितको लगानी नीति निर्माण गरिएको छ ।

श्रमिकको जीवन अलपत्र पारेर समृद्धि कल्पना गर्न सकिँदैनः मन्त्री विष्ट

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर बदल्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै कोषमा सूचीकृत हुन रोजगारदाता र श्रमिकलाई आह्वान गर्नुभयो ।

लाखौँ श्रमिकको जीवनलाई अलपत्र पारेर विकास र समृद्धि कल्पना गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, “सरकारले श्रमिकको सभ्य, सुरक्षित र सम्मानित जीवनको जगमाथि समृद्धिको कल्पना गरेको छ । श्रमिकको जीवनलाई जोखिममा राखेर सम्पत्ति आर्जन गर्ने परिकल्पना गर्न सक्दैनौँ ।”

सरकारको घोषणालाई अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै उहाँले बाध्य पारेर कानून कार्यान्वयन गर्ने अवस्थामा नपु¥याउन आग्रह गर्नुभयो । “अहिले अनुरोध गर्छौं, नबुझेका विषय बुझाउँछौँ, सबैको सुझाव, सल्लाह लिएर यसलाई परिमार्जन गर्छौं”, मन्त्री विष्टले भन्नुभयो, “यदि कोही कसैले अटेर ग¥यो भने सरकारको कानूनलाई कडाइका साथ कार्यान्वयन गर्छ । यो ऐच्छिक होइन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले अनिवार्य गरेको छ ।”

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु