काठमाडौ । माथीको दवावमा व्यङ्ग्य देउसीबाट कवि शैलेन्द्र सिंखडालाई निकालिएको भन्ने खबर बारे सिस्नुपानी नेपालले वक्तव्य जारी गरेको छ । यस्तो छ प्रेस वक्तव्य

नेपाली सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएका सन्दर्भमा हाम्रो ध्यानाकर्शष भएको छ । यस सम्वन्धमा हामी जानकारी गराउन चाहन्छौँ, कवि शैलेन्द्रजी सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।


सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भएको र श्री सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो ।

प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।

कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मन्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचारप्रसार गर्नु दुखद् कुरा हो । सिंखडाजीलाई कसैको दवावमा सभागिताबाट बन्चित गरिएको होइन । सिस्नुपानी नेपाल कसैको दवाव वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन । निरंकुशतन्त्रका विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति– विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ ।

हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । हास्यव्यङ््ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने हाम्रो अठोट छ ।

हाम्रा लाखौँ शुभचिन्तक पाठक, दर्शक, श्रोता तथा सन्चारजगतप्रति हामी सदा कृतज्ञ छौँ । धन्यवाद । -लक्ष्मण गाम्नागे (अध्यक्ष)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु