काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पु¥याउनुभएको योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय काम गरेको बताउनुभयो । सात साहित्यिक संस्थालाई रु १० लाखका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । “नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि रु १० लाख विनियोजन गरेका छौँ, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको नयाँबस्ती क्लब मात्र ‘बी’ डिभिजनमा पुगेकाले यसका लागि विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख चालिसेले जानकारी दिनुभयो । हाल क्लबलाई रु १० लाख वार्षिकरूपमा बजेट उपलब्ध गराएको छ । क्लब ‘ए’ डिभिजनमा बढुवा भए वार्षिक रु २० लाख उपलब्ध गराउने उहाँले घोषणा गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कैलाशकुट भवन उत्खनन् गर्न माग : सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौँ शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताउनुभयो । भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उहाँको भनाइ थियो ।

सो अवसरमा जोशीले महाकवि देवकोटाले घण्टाघरस्थित भाषानुवाद परिषद्को कार्यालयमा बसेर शाकुन्तल महाकाव्य रचना गर्नुभएको बताउनुभयो । शाकुन्तल महाकाव्य रचना गरेवापत महाकवि देवकोटाले त्यसबेला रु ५०० पारिश्रमिक पाएको संस्कृतिविद् जोशीले सुनाउनुभयो । त्यसबेलाको मोहर देवकोटा आफैँले बोकेर जानुभएको आफूले देखेको पनि उहाँले सो अवसरमा जानकारी दिनुभयो । मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जोशी विगत र वर्तमान जोड्न युगपुरुष भइकन वैचारिकरूपमा युवाको जस्तो सोच भएको व्यक्तित्व हो भन्नुभयो ।

कार्यक्रममा साहित्यकार पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगरपालिका वडा नं ५ र ६ का वडाध्यक्ष क्रमशः नारायणबहादुर सुवेदी र रमेश अर्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुण्यप्रसाद चौलागार्इँ, क्लबका अध्यक्ष सुभाष पुडासैनी, उपाध्यक्ष राजकुमार तामाङ, सचिव चन्द्रमणि गौतम, कोषाध्यक्ष राजेन्द्र खनाल, पूर्वअध्यक्ष श्रीबहादुर योगीलगायतले देवकोटाले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

उद्यानमा रहेको देवकोटाको अर्धकदको शालिकमा सो अवसरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कविहरु नवराज पुडासैनी ‘ज्योत्स्ना’, गोपालकृष्ण रिजाल, कविन्द्र पुडासैनी, पवनकुमार सङ्ग्रौलालगायतले महाकवि देवकोटा एवम समसामयिक विषयमा लेखिएको रचना पाठ गर्नुभएको थियो । सो अवसरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा कार्यरत ‘नयाँ जीवन’ नामक संस्थालाई रु पाँच हजार ५५५ सहित सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु