काठमाडौं । वर्षांैदेखि गाईगोरु तस्करीमा संलग्न दक्षिण झापास्थित कचनकबलका पाँच जनालाई अब उप्रान्त तस्करी नगर्न भन्दै प्रहरी, जनप्रतिनिधि र समुदायसमक्ष शपथ खुवाइएको छ । यही तिहारअघि गोरु तस्करी गर्दागर्दै प्रहरीले पक्राउ गरेका उनीहरुलाई अबदेखि तस्करी नगर्ने शपथ खुवाएर छाडिएको हो ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

जिल्लाका प्रहरी प्रमुख दिनेश मैनालीको उपस्थितिमा समुदाय प्रहरी साझेदारी झापाको आयोजनामा आज भएको विशेष कार्यक्रममा कचनकबल गाउँपालिकाका प्रमुख अन्जार आलमले शपथ गराउनुभएको थियो । कचनकबल गाउँपालिकाको सदरमुकाम बनियानी बजारमा गाईगोरुको तस्करी रोक्ने विषयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पदाधिकारीलाई शपथग्रहण गराए जसरी नै तस्करीमा संलग्न व्यक्तिलाई शपथग्रहण गराइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गाउँपालिकाका अध्यक्ष आलमले शपथ गराउँदै माइकबाट ‘म आजदेखि गाईगोरुको तस्करी गर्दिन, कानूनविपरीतका कुनै पनि गतिविधि गर्दिन’ भन्न लगाउनुभएको थियो । तस्करीको अभियोगमा पक्राउ परेका पाँच जना स्थानीयवासीले अध्यक्ष आलमले जे माइकबाट भन्नुभयो, त्यसैलाई दोहो¥याएर वाचन गरेका थिए ।

कचनकबल गाउँपालिकाका अध्यक्ष आलमले सीमा क्षेत्रमा चौपायाको तस्करी गर्नेलाई फकाएर र सम्झाएर अवैध गतिविधिबाट मुक्त गराउन शपथग्रहणको उपाय अवलम्बन गरिएको बताउनुभयो । उहाँले तस्करीमा संलग्न भएर पक्राउ परेका व्यक्ति भोट दिएर जिताएको नेता भन्दै आफूसमक्ष छुटाइदिन सहयोगका लागि आउने गरेको चर्चा गर्दै त्यस्तो गैरकानूनी काम गर्नेलाई संरक्षण नगर्ने बताउनुभयो ।

झापाको प्रहरी प्रशासन पछिल्लो समय गाईगोरुको तस्करीलाई पूर्णरुपमा नियन्त्रण गर्ने अभियानमा लागेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनालीले गैरकानूनी कार्य नगर्ने प्रतिबद्धता जनाउने व्यक्तिलाई स्थानीय समुदायको आग्रहमा शपथ खुवाएर छाडिएको जानकारी दिनुभयो ।

झापाको पूर्वी र दक्षिणी सीमा क्षेत्रबाट वर्षौंदेखि गाईगोरुको तस्कर हुँदै आएको छ । तर केही महिनादेखि झापाको प्रहरीले रोक्नेतर्फ सक्रियता बढाएको छ । प्रहरीले बाहिरबाट तस्करीका लागि ल्याएका गाईगोरुलाई राजमार्गबाटै नियन्त्रणमा लिने र सीमा क्षेत्रबाट भारततर्फ लैजान नदिने नीति लिएको प्रहरी उपरीक्षक मैनाली बताउनुहुन्छ ।

तस्करी नगर्ने शपथ लिएका कचनकबल–४ का जलाल मियाले गाईगोरुको तस्करी धन्दा छाडेर अब धान काट्ने मजदूरी पेशा गर्ने बताउनुभयो । उहाँले आफूहरु पेशेवर तस्कर नभएर परिवार पाल्नका लागि गाईगोरुको हन्जालाई सीमा कटाइदिने मजदूर भएको बताउनुभयो । “एक हल गोरु नेपालबाट सीमा कटाएर विहार पु¥याएबापत रु ५०० पाइन्थ्यो”, मियाँ भन्नुहुन्छ, “गाउँपालिकाका अध्यक्ष र प्रहरीले यस्तो धन्दा नगर्न धेरै सम्झाउनुभयो, चित्त बुझ्यो र अब गोरु धपाउन छाडेर खेती मजदूरी गर्ने विचार गरेको छु ।”

झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले शपथ खुवाउने कार्य अनौठो लागे पनि सीमा क्षेत्रमा धन्दामा लागेका सोझासिधा व्यक्तिलाई गैरकानूनी गतिविधिबाट मुक्त गराउन यस्तो उपाय प्रभावकारी बन्ने अपेक्षा गरिएको बताउनुभयो ।

झापा जिल्ला लामो समयदेखि पशु चौपाया तस्करीको केन्द्र बन्दै गएको बताउँदै उहाँले तस्करीको जालो प्रहरीले पूरै तोडिसकेको जिकिर गर्नुभयो । उहाँले गाईगोरु तस्करी हुनै नसक्ने गरी नियन्त्रणका उपाय अवलम्बन गरिएको जनाउँदै चौपाया तस्करीमुक्त जिल्ला बनाउनका लागि स्थानीयवासी र जनप्रतिनिधिको सहयोग जरुरत हुने बताउनुभयो ।

प्रहरीले आज बिहान कनकाइ नगरपालिका–३ स्थित तुलसीबारीबाट दुई ट्रक गोरु भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर भद्रपुर भन्सारमा बुझाएको छ । प्रहरीले तस्करीमा प्रयोग भएको ना५ख ५९४६ र ना६ख ३८४१ नंको ट्रकसमेत भन्सारमा बुझाएको छ । रासस

सम्बन्धित खबरहरु