काठमाडौं । लामो समय देखि चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशन बस्नु भएका डाक्टर गोविन्द केसीले १७औँ अनशन तोड्नु भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै गएको कात्तिक १७ गतेदेखि डडेलधुरामा अनशन सुरु गर्नु भएका डाक्टर केसीले आज अनशन स्थगित गर्नु भएको हो ।

उहाँले आफ्ना मागहरु पुरा भएको नभई अरु नै कारणले अनशन तोड्नु भएको हो । उहाँले भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको भन्दै अनशन तोड्नु भएको हो । आफु नेपाली भुभाग मिचिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको बताउँदै उहाँले अनशन स्थगित गरेको बताउनु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई ध्यानमा राखेर सत्याग्रह तत्कालका लागि स्थगन गरेको उहाँले जानकारी दिनु भएको छ । डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा बिनाभेदभाव र बिनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ ।’

डाक्टर केसीले पछिल्लो समय सीमा विवाद समाधानका लागि राजनीतिक दलबीच देखिएको एकताको पनि प्रशंसा गर्नु भएको छ । सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा पनि उहाँले जोड दिनु भएको छ । पछिल्ला दिनहरुमा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको थियो । उहाँलाई काठमाडौं ल्याउने तयारी गरिएको भए पनि आफैंले आउँन मान्नु भएको थिएन् ।

सम्बन्धित खबरहरु