काठमाडौं । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा–पम्प्लेट र नमूना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाइएको छ । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरुले मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने भएका छन् । बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

आठजना चुनावी मैदानमा

यही मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा आठजना चुनावी मैदानमा रहेका छन् । जिल्लाको दोगडाकेदार–४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सुर्नया–१ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उता पुर्चौंडी–४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

उपनिर्वाचनमा बैतडीमा चार हजारभन्दा बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो ।

निर्वाचन हुने ३ वडामा पाँचवटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चांैडी नगरपालिका– ४ मा महादेव मावि सिवावो, पहरोल मावि बाङ्गा मतदान केन्द्र तोकिएका छन् ।

पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।

वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका उम्मेदवारी दिएका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । रासस

सम्बन्धित खबरहरु