काठमाडौं । अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शनिबार अविजित व्यक्तिगत ३३५ रन बनाएर रेकर्ड बनाएका छन् । अर्का ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सर्वाधिक छिटो गतिमा सात हजार रन पार गरेका छन् । टेस्ट क्रिकेटमा वार्नरको यो दशौं सर्वाधिक व्यक्तिगत स्कोर हो ।

पाकिस्तान विरुद्धको दोस्रो दिवा–रात्रि टेस्ट क्रिकेटमा अस्ट्रेलियाले बलियो पकड बनाएको छ । तीन विकेटको क्षतिमा ५८९ रन बनाएर अस्ट्रेलियाले पहिलो इनिङ समाप्त गरेको थियो । अस्ट्रेलियाली कप्तान टिम पेनले इनिङ समाप्तिको घोषणा गरेका कारण टेस्ट क्रिकेटमा वेस्ट इन्डिजका ब्रायन लाराले बनाएको अविजित ४०० रनको लक्ष्य भने वार्नरले प्राप्त गर्न सकेनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

दोस्रो दिन नै ब्याटिङका निम्ति उत्रेको पाकिस्तानी टिमले खराब शुरुआत गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा पाकिस्तानले ९६ रनमा ६ विकेट गुमाइसकेको छ । अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्कले चार विकेट लिएका छन् । क्रिजमा बाबर आजम अविजित ४३ र यासिर शाह ४ रन बनाएर खेलिरहेका छन् ।

एडिलेडको मैदानमा यसअघि टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियामा लगातार १३ वटा टेस्टमा पराजित भइसकेको पाकिस्तानलाई यसपटक पनि २–० को शृङ्खला जोगाउनुपर्ने कठिन चुनौती छ । ब्रिसबेनमा खेलिएको पहिलो टेस्टमा पनि अस्ट्रेलियासँग पाकिस्तान एक इनिङ र ५ रनले पराजित भएको थियो । एएफपी

सम्बन्धित खबरहरु