काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङ बडिगाडमा भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गर्नुभएको छ ।

यस्तै, बागलुङमा १४ जनाको ज्यान जानेगरी भएको जीप दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुःख व्यक्त गर्नुभएको छ । गुल्मीको इस्मा गाउँपालिकादेखि बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग१ज ५२१९ नंको जीप बडिगाड गाउँपालिका–७ भीमगिठेमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु हुनेगरी भएको घटनाका विषयमा मुख्यमन्त्री गुरुङले एक शोक वक्तव्य जारी गर्दै भयानक दुर्घटनामा मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि तथा गम्भीर घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

“दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, वक्तव्यमा भनिएको छ । मुख्यमन्त्री गुरुङले दुर्घटनाका बेला उद्धारमा खट्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ । जीप अनियन्त्रित भई बडिगाड खोलामा खसेर दुर्घटना भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसीखोला जाँदै गर्दा बडिगाडमा दुर्घटना हुँदा १४ को मृत्यु, एक बेपत्ता र तीनजना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याएको छ । घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ र राष्ट्रिय जनमोर्चा बागलुङले समेत विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् ।

र, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप भीमगिठेमा दुर्घटनामा परेको हो । यही मङ्सिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला बाग्लुङमा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको उहाँले उल्लेख गर्नुभएको छ । सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न–गराउनसमेत सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।

सम्बन्धित खबरहरु