काठमाडौ । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले भुटानमाथि शानदार जीत हासिल गरेको छ । १३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४१ रनको फराकिलो जित हात पारेको हो ।

नेपालले २३७ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । उसका आरएम दोर्जीले सर्वाधिक २७ रन बनाएका थिए । नेपालका पारस खड्काले २ विकेट लिँदा करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एक–एक विकेट लिए ।

ज्ञानेन्द्रको शतकसँगै ठूलो स्कोर

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालको सुरुवात राम्रो रहृयो । कप्तान मल्ल र पूर्वकप्तान पारस खड्काले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे ।

पारस ५७ रनमा आउट भए । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८० रनको साझेदारी गरे । ५३ बलमा शतक पूरा गरेका कप्तान मल्ल थप दुई बल सामना गरेर १०७ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले पाँच चौका र ९ छक्का हाने । अन्तर्राष्ट्रिय टी–२० मा यो उनको पहिलो शतक हो । साथै १०७ रन टी–२० मा नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर पनि हो । यसअघि नेपालका लागि एक मात्र टी२० शतक पूर्वकप्तान पारसको नाममा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु