खेमराज गौतम । शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका तामाङ जन्मजातनै शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालकका बुबा मनी लोक्चान तामाङले बताउनुभयो । मनीका अनुसार टीकाले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण जन्मेको तीन वर्षदेखिनै बाँधेर राख्न थालिएको हो । “टीकालाई हेर्न एकजना दिनभर कुरुवा बस्ने अवस्था छैन, घरको काम पनि गर्नै प¥यो”, उहाँले भन्नुभयो, “कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन ।”

रातको समयमा बोकेर घर भित्र लैजाने भए पनि दिनमा घरको पिढीमा बाँधेर राख्दै आएको उहाँले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा टीकाको हेरचाह मात्र गरेर नभएको भन्दै मनीले दिनभर कृषिकर्ममा लाग्नुपरेको बताउनुभयो ।

“छोराको उपचार गर्न पाल्पाको प्रभास अस्पतालमा लगेको थिए, चार पाँच लाख खर्चसमेत गरे, उपचार भएन”, मनी तामाङले भन्नुभयो, “उपचारमा सङ्लग्न डाक्टरले उपचार गर्न प्रयास गरेपनि सफल भएनन्, असमर्थ भएको जानकारी दिएपछि फिर्ता आएको हो ।” ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको टीकाकी आमा सुकिला तामाङले दुखेसो पोख्नुभयो ।

तामाङ परिवारको पाँच सन्तानमध्ये टीका दोस्रो सन्तान हुन् । हालै गाउँपालिकाले अपाङ्गता परिचयपत्र बनाएर महिनाको रु तीन हजार अपाङ्गता भत्ता बाहेक अरु केही सहयोग नपाएको परिवारको गुनासो छ ।

अपाङ्गता भएका व्यक्तिको पनि साङ्ग व्यक्ति सरह मानवअधिकार हुन्छ । अझ अपाङ्गता भएकाको दैनिक जीवन साङ्ग व्यक्तिको भन्दा कठिन हुने भएकाले यस्ता नागरिकका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत प्रवृत्तिका कारण पूर्वाधारदेखि सेवा प्रवाहसम्मको अवस्थामा अपाङ्गता भएका व्यक्तिले हरेक पाइलापाइलामा कठिनाई झेल्नुपर्ने समस्या रहेको भन्दै मानव अधिकारर्मी तथा अभिवक्ता राम शर्माले अभिलम्ब बालकको उद्धार गरी सरोकारवाला निकायले उपचार गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाको पहलमा अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको वडाध्यक्ष तेजेन्द्र विक्रम कँुवरले जानकारी दिनुभयो । मानसिक र शारीरिक अवस्था ठीक नभएको व्यक्तिको संरक्षण गर्ने थुप्रै सङ्घ संस्था पनि देशमा छन् । तर, यो कुरामा पहल र सहयोग गर्ने कोही नभएको र आफूहरु यसबारे बेखबर रहेको परिवारको गुनासो छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु