चितवन । नारायणगढ मुग्लिन सडकखण्ड फेरी बन्द हुने भएको छ । अब दुई साता आंशिक रुपमा बन्द गरिने उल्लेख गरिएको छ । पहिरो रोकथामसम्बन्धी काम गर्नका लागि जिल्ला सुरक्षा समितिले मंसिर २७ गते शुक्रबारदेखि दुई सातासम्म दिउँसोको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । वुधबार विहान बसेको सुरक्षा समितिको बैठकले २७ मंसिरदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्ने निर्णय गरेके हो । नारायणगढबाट जाने बसलाई १५ किलो बजारमा रोकिने छ भने, मालवाहक गाडीलाई दासढुंगामा रोकिनेछ ।

काठमाडौंबाट आउने यात्रुबाहक सवारी मुग्लिन बजारमा, पोखराबाट आउनेलाई बेनीटारमा रोकिने छ । यस्तै, पोखराबाट आउने मालवाहक सवारीलाई आबुँखैरहनीमा र काठमाडौंबाट आउनेलाई लेवाटारमा रोकिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

यसअघि अघिल्लो वर्ष ११ ठाउँमा आधुनिक शैलीको रक नेटिक र रक बोल्टिङ गरेर पहिरो रोक्ने प्रयास गरिएको थियो । १२ ठाउँमा बायोइन्जिनियरिङ गरिएको थियो । सूचना अधिकारी खनालका अनुसार ३६ किलोेमिटर लामो मुग्लिन नारायणगढ सडकखण्डमा यसपटक ८ स्थानमा पहिरो जोखिम नियन्त्रणको काम हुँदैछ । गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे मन्दिर छेउ, चारकिलो, टोपेखोला, कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम गरिने सूचना अधिकारी खनालले जानकारी दिए । दुई सातामा पहाड काटिएका र पहिरोको जोखिम रहेका ठाउँका झर्न लागेका ढुंगा हटाउने र सुरक्षित गराउने काम गरिने खनालले बताए ।

त्यसपछि रक नेटिङ, रक बेल्डिङ र अन्य बायो इन्जिनियरिङका काम हुनेछ । गत बर्ष नै सडकखण्डमा पहिरो रोकथामको काम गर्ने भनिए पनि समयमा नै ठेक्का लाग्न नसक्दा काम अघि बढ्न सकेको थिएन । विश्व बैंकको ऋण सहयोगमा विस्तार गरिएको सडक डेडिकेटेड डबल लेनको छ । झण्डै १२ करोड रुपैयाँ लागतमा पहिरो रोकथामसम्बन्धी काम तीनवटा ठेकेदार कम्पनीको ज्वाइन्ट भेन्चरलाई दिइएको हो । यो सडक हुँदै दैनिक १० हजारको हाराहारीमा यात्रु बस, साना सवारी र समान बोकेका ट्रक ओहोरदोहोर गर्ने गर्दछन् । अघिल्लो बर्षदेखि पूर्ण रुपमा नयाँ स्वरुपमा खुलेको सडक निर्माण समय बारम्बार बन्द गरेर निमार्ण गर्ने गरिन्थ्यो ।

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु