सरोज ढुङ्गेल, काठमाडौ । उपत्यकामा उँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा बालबालिकाहरू जाडो मौसममा बढी पीडित हुने भएकाले उनीहरूलाई जाडोबाट बचाउन चिकित्सकले सुझाव दिएका हुन् । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले पहिलेजस्तै गरी बालबालिकालाई चिसो मौसममा छाड्न नहुने बताउनुभयो । उहाँले अत्यधिक चिसोले गर्दा बालबालिकालाई निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मिया लगायतका रोगले आक्रमण गर्ने हुनाले सतर्क रहन आग्रह गर्नुभयो । बालरोग विशेषज्ञ डा। धाख्वाले बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताउनुभयो । उहाँले उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने भन्दै तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने बताउनुभयो ।

डा। धाख्वाले जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्ने बताउनुभयो । उहाँले बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ भन्नुभयो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा परोपकार स्त्री तथा प्रसूति अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमले सुत्केरी महिला पनि जाडोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।

उहाँले सुत्केरीसँगै उनीहरूका भर्खर जन्मिएका सन्तान पनि जाडोको जोखिममा
रहेकाले सधैँ न्यानोमा राख्न सल्लाह दिनुभयो । उहाँले नवजात शिशु तथा आमाहरूको चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्युसमेत हुने गरेको जानकारी दिँदै चिसोबाट बच्नुपर्ने बताउनुभयो । उहाँले जाडोमा बालबालिकामा दम, निमोनिया, रुघाखोकी, ज्वरो, टन्सिल, डायरिया, भाइरल ज्वरो, पिनास, ब्रोनक्राइटिसलगायतका रोग लाग्ने बताउनुभयो । भर्खर जन्मेका शिशुमा निमोनिया, ब्रोनक्राइटिसलगायतका समस्या हुने भन्दै उहाँले बालबालिकालाई चिसोमा जथाभावी खेल्न नदिने, न्यानो कपडा लगाइदिनुपर्ने बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी विच्छा भन्नुहुन्छ, “चिसोबाट बालबालिका सबैभन्दा बढी जोखिममा हुन्छन् । चिसोबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, मादक पदार्थ सेवन नगर्ने, प्रशस्त पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खानुपर्छ । ’’ उहाँले चिसो मौसममा निमोनिया, ज्वरो, घ्यारघ्यारजस्ता समस्या लिएर बालबालिका अस्पताल आउने गरेको बताउनुभयो ।

बाल अस्पतालमा मात्र होइन आयुर्वेदिक औषधालयमा समेत त्यत्तिकै मात्रामा बालबालिका चिसो मौसमका कारण लाग्ने रोग लिएर जाने गर्छन् । बैरेनी आयुर्वेद औषधालय धादिडका प्रमुख कविराज नारायण पौडेलले आयुर्वेद औषधालयमा दैनिक पाँच बालबालिका निमोनिया, रुघा, ज्वरो, खोकीको समस्या लिएर आउने गरेको जानकारी दिनुभयो । उहाँले ती बालबालिकालाई कस्तुरीभूषण, मिर्गमलाम, कफप्लेटजस्ता औषधि दिने गरेको बताउनुभयो । ती औषधिले एलोपेथिक जस्तो असर नगर्ने उहाँको भनाइ छ । उहाँले चिसो मौसममा निमोनिया, श्वासप्रश्वास, दम, रुघाखोकी, ग्यास्ट्रिक लगायतका रोगले सताउने हुनाले न्यानो ठाउँमा मात्र बस्न सुझाव दिनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा। बिच्छाले वयस्कहरूलाई चिसो मौसममा सामान्य रुघाखोकीले मात्र सताउने हुँदा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । तर ज्येष्ठ नागरिक तथा बालबालिकालाई भने चिसो मौसममा लाग्ने रोगले बढी सताउँछ । उहाँले जाडो मौसममा गाउँघरतिर आगो बालेर बस्नाले पनि रोगहरू निम्त्याउने बताउनुभयो । कविराज पौडेलले चिसो मौसममा लाग्ने रोगबाट बच्न घरेलु उपायहरू पनि अपनाउन सकिने बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा न्यानो लुगा लगाउने, तातो खाना खाने, बच्चालाई न्यानो ठाउँमा राख्ने गर्नाले रोग लाग्नबाट बचाउन सकिन्छ । उहाँले चिसोले निमोनिया, रुघाखोकी, दम, श्वासप्रश्वास, ग्यास्ट्रिक लगायतका रोग निम्त्याउने भन्दै धुवाँधुलोबाट बच्न सक्नुपर्ने बताउनुभयो । गोरखापत्र दैनिकबाट साभार

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु