पाल्पा । निस्दी गाउँपालिका अर्चलेको लेकडाँडा वनमा वनमारा मासेर जडीबुटी खेती गरिएको छ । वनमारा फडानी गरी नाङ्गाडाँडामा जडीबुटी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । टिमुर, तेजपात र अम्रिसोको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बासिन्दा जुटेका हुन् ।

वनमा तेजपातका ३२ हजार बिरुवा रोपिएका छन् । टिमुरका छ हजार, अम्रिसोका ७५ हजार बिरुवा डाँडाको खाली क्षेत्रमा रोपिएका छन् । कु–काठ फडानी गरी रोपिएपछि नाङ्गाडाँडा विस्तारै हरियालीमा बदलिएका छन् । समुदायको अगुवाइमा व्यावसायिक जडीबुटी खेतीपछि स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पुग्नेछ ।

उजाडलाग्दो डाँडामा जडीबुटी रोपेपछि लेकडाँडाको महत्व अझै बढेको हो । सांसद दलबहादुर रानाले जडीबुटी खेतीसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना रहेको बताउनुभयो । जडीबुटी खेतीले स्थानीयवासीलाई जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको भनाइ छ । एक सय ५६ घरपरिवार सो वन क्षेत्रमा आवद्ध छन् । वनमा १५ समूह बनाइ काम भइरहेको छ । एक घरले २५ जना बराबरको श्रमदानमा वनमा जडीबुटी रोपिएको लेकडाँडा कवुलियती वनका अध्यक्ष कृष्णबहादुर सुनारीले बताउनुभयो । अगामी दिनमा १२५ हेक्टर क्षेत्रमा जडीबुटी खेती गर्ने योजना छ ।

स्थानीय बासिन्दाको श्रम र पसिनाले अनुत्पादनमा रहेको डाँडा क्षेत्र अहिले उत्पादनमूलक क्षेत्रका रुपमा परिचय बनाउन सफल बनेको हो । आव २०७५÷७६ मा सांसद रानाले सांसद विकास कोषको रु १० लाख र वन कार्यालयको रु चार लाख बजेटले वन हराभरा बनाउने अभियानको शुरुआत गरिएको हो । डाँडाको तल्लो भागमा दालचिनी, त्यसभन्दा माथि अम्रिसो र माथिल्लो भागमा टिमुर खेती गरिएको छ । असार÷साउन महिनामा बिरुवा ल्याएर लगाउने काम भएको डिभिजन वन कार्यालयका प्रमुख डा मोहन पौडेलले बताउनुभयो ।

स्थानीय बासिन्दाको मागका आधारमा वन क्षेत्रमा टिमुर खेती गर्न थालिएको छ । समुदायले उपभोग गर्नेगरी ४० वर्षका लागि वन समुदायलाई हस्तान्तरण गरिने डिभिजन वन कार्यालयका अधिकृत यमलाल पोखरेलले बताउनुभयो । टिमुरबाट तीन÷चार वर्षपछि मात्र फल दिने हुँदा राम्रो आम्दानीको सम्भावना छ । जिल्लामा कवुलियती वनमा स्थानीय नमूना खेती सफल बनेको छ । पूर्वखोला गाउँपालिकाको जल्पा र निस्दी गाउँपालिकाको झिरुवाँसस्थित काउले कवलियती वन अम्रिसो खेतीमा लोभलाग्दो बनेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु