काठमाडौं । अहिले जाडो बढेसँगै जंगलमा बस्ने जनवार पनि गाउँ शहरमा पस्न थालेका छन् । यस्तै, तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा लिइएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो ।

उक्त पोथी चितुवा छ–सात वर्षको र ३०–३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रूपमा चितवन स्थानान्तरण गरिनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

चितुवाको डर बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवाको डर छ । भानु नगरपालिकामा चितुवाको हमलाबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ । भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको डर बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेका छन् । त्यस्तै केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

सम्बन्धित खबरहरु