दोलखा । दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उहाँलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिर्नुभएको थियो । तेत्तीस महिनाको नोकरीपछि उहाँमा साझेदारीमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बन्नुभयो । साझेदारीमा चलायएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभयो ।

शेर्पाले ‘माउन्ट एभरेष्ट’का नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको शुरुआत गर्नुभयो जुन अहिलेसम्म पनि सञ्चालनमै छ । कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने हुनुभएको छ । उहाँ आफूलाई मालिक भन्न भने रुचाउनुहुन्न । “कामदारको रुपमा पोर्तुगल छिरँें, परिश्रम गरेंँ, रेष्टुरेन्ट खोल्न सक्ने भएँ”, शेर्पाले भन्नुभयो, ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’

छैन पछुतो
कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगर्नुभएका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्तुगललाई दिनुहुन्छ । “मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन”, शेर्पा भन्नुहुन्छ, “मलाई सिप र क्षमता विकासमा पोर्तुगलले सिकाएको छ ।” कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बन्नुभएका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिनुहुन्छ । “लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन”, उहाँले भन्नुभयो, “काम गर्नुस्, भविष्य आफैंँ बन्छ ।”

सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । “नेपाल, भारत, चीन, बङ्गलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्तुगल बनेको छ”, शेर्पाले भन्नुभयो, “विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।” उहाँका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बङ्गलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उहाँले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आउनुभएको छ । “समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु ”, उहाँ भन्नुहुन्छ, “परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।” नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उहाँको धारणा छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु