काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनु भएको छ । उहाँले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभयो । आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराउनुभयो ।

मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।”

उहाँले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिनुभयो । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उहाँले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिनुभयो । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उहाँको भनाइ छ ।

अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो । तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो । रासस

सम्बन्धित खबरहरु