काठमाडौं ।पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारमा एकतारुपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने बताउनुभएको छ । आज बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।’

उहाँले परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै त्यो कुनै हालतमा सफल हुन नसक्ने बताउनुभयो । उहाँले अहिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यम प्रयोग गरेर यो देशलाई अस्थिर बनाउँने प्रयास भइरहेको प्रति सजग गराउँनुभयो । उहाँले भन्नुभयो अहिले केही सामाजिक प्रयोगकर्ताका पोष्ट र सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचार हेर्नै नसकिने, सुन्नै नसकिने भएको उल्लेख गर्नुभयो ।

उहाँ आफुले एकदिन राष्ट्रिय मिडियामा प्रशारित सामाग्री हेर्न नै नसकेर बन्द गरेको सुनाउँनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’ उहाँले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह पनि गर्नुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको उहाँको भनाई थियो । सरकारबारे उहाँले भन्नुभयो, ‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं ।

 

पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’ कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, प्रेस संगठन इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतम, सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायत उपस्थित हुनुहुन्थ्यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु