काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँले मृतकका श्रीमान् घरमा नभएको बताउनुभयो । मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक छन् । मृतक बुढाको हिजै हिन्दू परम्पराअनुसार दाहसंस्कारसमेत गरिएको छ । रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सक्नुभएको छैन । राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ ।

हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ । जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका श्यया भरिभराउ हुने गरेको छ ।

सम्बन्धित खबरहरु