काठमाडौं । मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा वितण्डा मच्चाएको थियो । रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताउनुभयो । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । “दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, उहाँले भन्नुभयो । दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको उहाँले बताउनुभयो । गत वर्ष सौराहा क्षेत्रमा वितण्डा मच्चाएको रोनाल्डोले यस वर्ष मेघौली क्षेत्रमा दुःख दिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पु¥याएको भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको समेत ज्यान लिने अवस्था आएको थियो, निकुञ्ज, महानगर र प्रशासनमा ‘डेलिगेसन’ गयौँ, बल्ल सुनुवाइ भयो ।” रेडियो कलर जडानपछि पनि अझै ढुक्क हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरु एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिनुभयो । निकुञ्जले पालेका ५७ हात्ती छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा धु्रवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।

सम्बन्धित खबरहरु