काठमाडौ । ‘समानताको पुस्ताःप्रतिबद्ध युवा दस्ता’ नारासाथ मङ्गलबारदेखि यहाँ शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्तरूपमा सो सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल भएको थियो । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल भएको थियो । सम्मेलनले सन् १९९१ मा नेपालले अनुमोदन गरेको संयुक्त राष्ट्रसङ्घको महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि, सन् १९९४ मा भएको जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले अपनाएको बेइजिङ घोषणापत्र, सन् २०१५ को दिगो विकास लक्ष्यलगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनमा जोड दिएको छ ।

साथै लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासको महत्वपूर्ण समयक्रम पूरा भएको उत्सवका रूपमा अन्तरपुस्ता, लैङ्गिक समानता, यौन तथा प्रजनन् स्वास्थ्य, देशमा रहेका विभिन्न प्रणाली, संरचना, नीति तथा अभियानमा हाम्रो प्रतिक्रिया, रुढिवादी धारणामाथि सम्बोधन, शान्तिसुरक्षा जस्ता विविध विषयमा छलफल भएको थियो ।

सम्मेलनले सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गर्ने घोषणाअनुरूप सुरक्षित गर्भपतनसम्बन्धी छुट्टै बृहत् कानूनको निर्माण गरी महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि ठोस व्यवस्था गर्न आह्वान गरेको छ ।
राज्यका हरेक तह, निकाय तथा संरचनामा युवाको अर्थपूर्ण र समानुपातिक समावेशी सहभागिता र उनीहरूको नेतृत्वको सुनिश्चितता गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकद्वारा पारित युवा, शान्ति र सुरक्षासम्बन्धी सङ्कल्प र महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सङ्कल्प प्रस्तावको कार्यान्वयनलगायत माग गरिएको छ । सम्मेलनमा ७७ जिल्लाका २०० युवाको सहभागिता थियो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु