काठमाडौं । घनाबस्ती, छेउमै सार्वजनिक बाटो, चारैतिर कोलाहलका बीचमा रहेको वीरगञ्ज कारागारमा सुरक्षा चुनौती बढ्दै गएपछि कैदीबन्दी असुरक्षित हुन थालेका छन् । कारागारभित्र ब्लक सिस्टमको अभाव, आन्तरिक सुरक्षा र व्यवस्थापनमा देखिएको समस्या, क्षमताभन्दा बढी कैदीबन्दी, जीर्ण संरचना, सुरक्षाकर्मी र जनशक्तिको अभाव जस्ता कारणले कारागारभित्रको सुरक्षा संवेदनशीलता बढेकाले जुनसुकै बेला कैदीबन्दी फरार हुन सक्ने सम्भावना रहेको कारागारका उपसचिव तथा जेलर श्रवणकुमार पोखरेलले बताउनुभयो ।

विसं १९९५ अघि राणशासनकालमा १२ हजार ९९४ दशमलव ६ वर्गमिटर क्षेत्रफलमा फैलिएको सो कारागारमा एक हजार कैदीबन्दी अटाउने क्षमता रहे पनि हाल ९७ महिला र चार आश्रित बालबालिकासहित एक हजार ३६३ कैदीबन्दी छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको उपसचिव पोखरेलको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी तथा १०५ भारतीय छन् । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान्–श्रीमती रहेको र उनीहरुलाई महिनामा एकचोटि १५ मिनेटका लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ ।

कारागारभित्र रहेका सबै कैदीबन्दीलाई प्रतिदिन विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । यसका लागि सात विद्युतीय हाजिरी यन्त्र राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी एड्स सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । अझ चार महिला–पुरुष सो रोगबाट प्रभावित भएकाले उनीहरुलाई नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ ।

घनाबस्ती र भीडभाड हुने बाटाको छेउमा जीर्ण तथा पुरानो संरचना भएको सो कारागारलाई अन्यत्र सार्नुपर्ने आवश्यकता रहेको जलाउँदै जेलर पोखरेलले भन्नुभयो, “जीर्ण संरचनाभित्रै यो कारागारलाई मानव अधिकारमैत्री बनाउने प्रयास भइरहेको छ ।” कैदीबन्दीको चापको दृष्टिकोणले सो कारागारको नेपालमा तेस्रो स्थान छ ।

नेपालको प्रदेश नं २ मा सबभन्दा ठूलो कारागार छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखी नयाँ संरचना बनाउनुपर्ने तथा थप जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको कारागार प्रशासनले जनाएको छ । सो निकायले समयमै सम्बन्धित निकाय गम्भीर नभए कैदी जुनसुकै बेला फरार हुने सम्भावना रहेको औँल्याएको छ ।

सम्बन्धित खबरहरु