पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् । वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् । स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएको छ । कुरिलो बिक्रीबाट गत वर्ष रु पाँच लाखको आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।

 

यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउनुहुन्छ । प्रतिकिलो रु चार सयमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गर्नुभएको हो । उहाँले विभिन्न ठाउँठाउँमा कुरिलो खेतीसम्बन्धी तालीम पनि दिने गर्नुहुन्छ । सोही ठाउँकै केशवमणि बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गत वर्ष ८५ बोट कुरिलोका बिरुवा लगाउनुभएको छ । यस वर्ष करीब दुई सय बोट कुरिलो पु¥याउने उहाँको लक्ष्य छ । “पहिलो वर्षमा नै नसोचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्री गरियो, अब बिस्तारै बर्सेनि व्यावसायिक तवरले कुरिलो बढाउँदै जानेछु”, बस्यालले भन्नुभयो ।

अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थाल्नुभएको छ । उहाँले परीक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय शुरु गर्नुभयो । उहाँ राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय बिरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै हुनुहुन्छ । अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुँदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उहाँको भनाइ छ । थोरै समय मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । भिरालो पानी नजम्ने जमीनमा यसको उत्पादन राम्रो हुन्छ । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु